नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुग्नु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।
यसका लागि नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिनुभएको छ।
यसैबीच नेता नेपालले बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गर्नुभयो। कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गर्नुभयो।
कार्यक्रममा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्नसमेत आग्रहगर्नुभयो । यसको तयारी स्वरूप खनाल-नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ। नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन्।