विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।
माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ ।‘फागुन २३ गतेको सर्वोच्चको फैसलापछि परिस्थिति बेग्लै बनेको छ, संसद बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने ‘अविश्वासको प्रस्ताव बैठकबाटै फिर्ता हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।