निजामति कितावखानासँग रहेका कागजातमा जन्ममिति फरक पर्दा मोरङको रङ्गेली –८ का रामबहादुर बस्नेतले आफूले खाएको ३३ महिनाको तलब भत्ता र २ वर्षको दशैंखर्च राज्यलाई फर्काउनु पर्ने भएको छ ।
रङ्गेली अस्पतालमा २०३८ साल देखि कार्यलय सहयोगी पदमा काम गर्दै आएका बस्नेतको नागरिकतामा र अन्य कागजातमा जन्ममिति फरक छ । नागरिक लगानी कोष, रङ्गेली अस्पताल र निजामति कितावखानाको अभिलेखमा बस्नेतको जन्ममिति २०२० असार ३० गते रहेको छ । नागरिकतामा २०३५ असार ३० गते १८ वर्ष पुरा भएको उल्लेख छ । नागरिकताको मिति अनुसार उनी २०१७ सालमा जन्मिएको ठहर्छ । सोही अनुसार २०७५ साल असार ३० गते नै सेवा निवृत भइसक्नु पर्ने हो । तर, बस्नेत अबकास हुनुपर्ने मिति भन्दा २९ महिना पछि सम्म सरकारी सेवा सुबिधा लिएर जागीर खाइराखेका थिए । नागरिक लगानी कोष , निमामति कितावखाना र रङ्गेली अस्पतालले जारी गरेको परिचयपत्रमा भएको जन्ममितिका आधारमा आफूले काम गरिरहेको बस्नेत बताउछन् ।
२०७२ साउन ६ गते रङ्गेली अस्पतालका मेसु डाक्टर बिधान चन्द्र झाले निजामति किताबखानालाई बस्नेतको अनिवार्य अबकासका विषयमा पत्राचार गरेका थिए । ५ वर्ष अघि पठाएको पत्रको जवाफ नआएपछि बस्नेत काम गरिरहेका थिए । तर, २०७७ चैत १० गते निजामति किताबखानाले रङ्गेली अस्पताललाई पत्राचार गर्दै निजामति सेवा नियमावलि२०५० को बाह्रौं संसोधनको नियम १२९ क (४) अनुसार २०७५ असार ३० गते देखि हाल सम्म बस्नेतले उपभोग गरेको तलब भत्ता,बीमा थप,चाडपर्व खर्च, पोशाक भत्ता,कर्मचारी सञ्चय कोष थप,महँगी भत्ता, स्थानीय विशेष भत्ताका सुबिधाहरू एकिन गरी हुन आउने रकम नगदै सरकारी कोषमा जम्मा गरी भौचर पठाउन भनेको छ । पत्र आएपछि बस्नेतका नौ नारी गलेका छन् । उनले भने –मासिक तलब मात्र ३४ हजार ३७५ बुझ्दै आएको थिएँ । तलब र सबै सुबिधाको रकम बुझाउँदा ११ लाख रुपियाँ भन्दा माथि हुन्छ ।
अनिवार्य अबकासको पत्र पठाउँदा निजामति कितावखानाले जवाफ नपठाएकोले आफू नियमित काममा गएको उनले रुँदै बताए ।
यता रङ्गेली नगरपालिकाका लेखा अधिकृत रुपा सुनुवारले निजामति कितावखानाको गल्तीले समस्या सिर्जना भएको बताईन । तर, सरकारी कोषबाट तलब खाने जुनसुकै कर्मचारीले आफ्नो अबकासका विषयमा जानकारी राख्नुपर्ने उनको भनाई छ । उनले भनिन् ‘हामीले अस्पतालमा भएका स्थायी कर्मचारीलाई बिभागबाट पठाएको तलब खुवाउने मात्र हो । हामीलाई कर्मचारीको विस्तृत विवरण थाहा हुँदैन ।’
रङ्गेली अस्पतालमा मेसु रोहेन्द्र पाण्डे लगाउत उच्च अधिकारीहरू केही दिन यता बिदामा छन् । स्थानीय देवमणि कट्वालले भने–इन्र्टनसीपमा आएका डाक्टरले अस्पताल चलेको छ । प्रशासनिक कुरा उहाँहरूलाई थाहा हुन्न । ’




