डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं : नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ ।

कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो ।

पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको जानकारी दिए ।

‘६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको छ, केही जिल्लामा समायोजन टुंगिन बाँकी छन्, केही जिल्लाले विवरण पठाउन नै ढिला गरिरहेका छन् । त्यसले गर्दा सुरु कार्यतालिका पनि प्रभावित भएको छ,’ ढुंगानाले राजधानीसँग भने ।

उनले गत शुक्रबारसम्म मात्रै ४ लाख ८० हजार जनाको सदस्यता नवीकरण र नयाँ विवरण इन्ट्री भएको जनाए । यो संख्या मंगलबारसम्म ५ लाखको हाराहारीमा रहेको ढुंगानाले बताएका हुन् ।

कांग्रेसले अघिल्ला महाधिवेशनमा कागजी प्रक्रियामार्फत सदस्यको विवरण राख्दै आएकोमा यसपटक सदस्यता वितरणलाई अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा इन्ट्री गर्दै आइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तर सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, बर्दिया, बाँके, कैलाली, रुकुम पूर्व र डोल्पाबाट भने सदस्यताको विवरण अनलाइन प्रणालीमा इन्ट्री नै भएको छैन । यीमध्ये केही जिल्लामा पार्टी समायोजनको काम नै बाँकी छ ।

कांग्रेसले आगामी भदौमा हुन गइरहेको महाधिवेशनको कार्यतालिकामा १० चैतसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो ।

सो मिति नाघेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले २० चैतका लागि केन्द्रीय समितिको बैठकसमेत बोलाइसकेको छ ।

यसअघि कांग्रेसले केन्द्रीय समिति बैठकबाट समयमै काम नसक्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर