खगराजले छोडे प्रदेश सहइन्चार्ज, माओवादी त्यागेका लीलबहादुरलाई ‘उपहार’

खगराजले छोडे प्रदेश सहइन्चार्ज, माओवादी त्यागेका लीलबहादुरलाई ‘उपहार’

पोखरा : एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी नेता खगराज अधिकारीले छोडेका छन् । नयाँ सहइन्चार्जमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघ सरकारकी बहालवाला कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र लीलबहादुर थापामगर तोकिएका छन् ।

गत फागुन २८ र चैत ७ गते बसेको एमालेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष ओलीले १३ चैतमा जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानि)मा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ ।

किरण गुरुङ यसअघि पनि सहइन्चार्ज थिए । यसअघि सहइन्चार्ज रहेका नेता अधिकारी स्वयंले प्रदेश सहइन्चार्जमा नबस्ने इच्छा देखाएका हुन् । ‘उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई आफू सहइन्चार्ज नबस्ने भनेर भन्नुभएको थियो । उहाँ (अधिकारी) कै इच्छाले प्रदेशमा जिम्मा नदिइएको हो,’ नेता अधिकारी निकट स्रोतले भन्यो । अधिकारीले केन्द्रमा जिम्मेवारी पाउने पार्टी स्रोत बताउँछ ।

नेकपा हुँदा प्रदेश इन्चार्ज रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिम्मेवारी यथावत छ । माओवादीतर्फका नेता हितराज पाण्डे अध्यक्ष थिए । एमालेमा जिम्मेवारी हेरफेर अनुसार पार्टीको प्रदेश अध्यक्ष पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव क्रमशः गोविन्दबहादुर नेपाली भएका छन् ।

गत २८ फागुनमा पार्टीको केन्द्रीय बैठकले नेकपा केन्द्रीय सदस्य विकलाई प्रदेश अध्यक्ष तोकेको थियो ।

उनले गत १० चैतमा पोखरा नयाँबजारस्थित प्रदेश कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए । एमाले सचिव रहेका नेपाली तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि पनि सोही जिम्मेवारीमा थिए । नेपाली हाल गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङका राजाीतिक सल्लाहकार छन् ।

संसद विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बागलुङका थापामगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका हुन् । ओलीले संसद विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आउँदा थापाले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका थिए ।

एमाले अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार नेताहरुको जिम्मेवारी हेरफेर गर्दा थापाले प्रदेश सहइन्चार्ज बन्ने मौका पाएका हुन् । बरेङ गाउँपालिका २ हुग्दिशिरका थापामगर माओवादीका केही पूर्व लडाकुसहित माघ १० गते ओली समूह प्रवेश गरेका थिए ।

२०५४ सालदेखि ५ वर्षसम्म तत्कालीन जिल्ला विकास समिति बागलुङ सभापति थिए । २०६३ पछि माओवादी प्रवेश गरे । उनी एकीकृत नेकपामा केन्द्रीय सदस्य पनि थिए ।

अहिले ओलीतिर लागेका टोपबहादुर रायमाझीसँग घनिष्ठ दोस्तीयारी छ । राष्ट्रिय भलिबल संघको केन्द्रीय उपाध्यक्ष भएका थापामगर गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न कसरत गरिरहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले रमेशकुमार सिलवाललाई दोस्रो कार्यकालको जिम्मेवारी दिएका थिए ।

सम्बन्धित खवर