विराटनगर : भारतमा कोरोना सङ्क्रमण तीव्र भएका कारण मोरङमा स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको छ । विराटनगरमा भेटिएका नयाँ सङ्क्रमितको भारतसँग ट्राभल हिस्ट्री जोडिएका कारण स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको हो ।
मुख्य नाकामा सतर्कता उच्च भए पनि चोरबाटोबाट सीमा वारपार गर्नेको सङ्ख्या बाक्लो छ । खुला सीमा भएका कारण चोरबाटो हुँदै भारत प्रवेश गर्ने र नेपाल फर्कनेको सङ्ख्या धेरै भएको हो ।
नाकामा प्रहरी जनशक्ति थप गरी रोक्ने प्रयास गरे पनि सबैलाई रोक्न नसकिएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार विभिन्न बहाना बनाएर जोगवनी जानेको सङ्ख्या ठूलो छ ।
दोस्रो लहर सुरु भएपछि सतर्कता अपनाए पनि किनमेलका लागि जोगवनी जानेलाई रोक्न गाह्रो भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘नाकामा सतर्कता अपनाएका छौँ, मुख्य नाका हुँदै आउनेको स्वास्थ्य जाँच हुन्छ,’ उनले भने, ‘सामान्य किनमेलका लागि जोगवनी पुग्नेलाई रोक्न गाह्रो छ ।’
भारतसँग खुला सिमाना जोडिएको विराटनगरको मटेरुवा, दरैया बस्तीलगायत क्षेत्रबाट दैनिक सयौँले आउ–जाउ गर्छन् ।
किनमेलका लागि जानेहरूले सतर्कता नपअपनाएका कारण सङ्क्रमणको जोखिम उच्च छ । भारतबाट फर्कने शङ्कास्पदको नाकामा एन्टिजेन परीक्षण गरिरहेको उनले बताए ।