जेफालेमा १ नं. प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

जेफालेमा १ नं. प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पथरी, मोरङको केराबारी २ स्थीत पर्यटकीय क्षेत्र जेफालेमा प्रदेश नं. १ स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुनेभएको छ ।

आयोजकले नयाँवर्षको अवसर पारेर २०७८ बैशाक १ गतेदेखि ५ गतेसम्म हुने भलिवल प्रतियोगिता तथा जेफाले महोत्सवका बारेमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । १ गते साहित्यिक कार्यक्रम, २ गते सांस्कृतिक कार्यक्रम र ३ गतेबाट भलिवल खेल सुरु गरिने आयोजक खेलकुद विकास समिति जेफालेका अध्यक्ष अमरध्वज लिम्बूले जानकारी दिनुभयो ।

प्रदेश १ मा उत्कृष्ट खेलाडीहरु रहेका सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका, दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक गरी १० टिमले सहभागिता जनाउने भएका छन् । बिजेता टिमले ७५ हजार र उप विजेता टिमले ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम सहित महोत्सवको जम्मा लागत ७ लाख अनुमान गरिएको छ । स्थानीय संघसंस्थाहरु, व्यावसायी, स्थानीय तह लगायतबाट लागत रकम संकलन गरिने लिम्बूले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ती भुजेल, जेफाले पर्यटन व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम अध्यक्ष कार्कीले गाउँपालिकाले उचित सम्बोधन गर्ने बताउनुभयो । पालिकाबाट मात्रै नभएर कार्यक्रम सम्पन्न गर्नका लागि व्याक्तिगत रुपमा पनि सहयोग गर्न आफु तयार रहेको कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो कार्यक्रम पछि केराबारी र जेफालेको पहिचान फरक तरिकाले हुने उपध्यक्ष भुजेलले बताउनुभयो । २०४३ सालदेखि भलिवल खेल आयोजना गर्दै आएको जेफालेमा प्रदेश स्तरको प्रतियोगिता अयोजना गर्दा गाउँपालिकाको पहिचान समेत उच्च हुने भुजेलले बताउनुभयो ।

२ हजार मिटरमा रहेको रमणीय ठाउँ जेफाले केराबारीबाट २५ किमी टाढा रहेको मोरङको सुन्दर पर्यटकीय क्षेत्र भएको जेफाले पर्यटन व्यवस्थापन समिति अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो । सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने, प्रयाप्त मात्रामा प्रचारप्रसार गर्नुपर्ने अधिकारीको भनाइ थियो ।

साहित्यिक तथा सांस्कृतिक कार्यक्रम

१ गते हुने साहित्यिक कार्यक्रममा कविहरु मनु मन्जिल, बद्री भिखारी लगायत आउने भएका छन् । सो दिन “पर्यटन र साहित्य किन र के का लागि ?” भन्ने शीर्षकमा १ घण्टाको अन्तरक्रिया, राष्ट्रिय स्तरका कविहरुका ७ वटा कविता, ७ जना गजलकारका १४ वटा गजल प्रस्तुत हुने जनाइएको छ । सोही कार्यक्रममा जेफाले साहित्य ढवलीको टिसर्ट पनि सार्वजनिक गर्ने कार्यक्रम तय भएको महाेत्सवकाे साहित्य विधाका संयाेजक युवराज ठकुरीले जानकारी दिनुभयाे ।

२ गते हुने सांस्कृतिक कार्यक्रममा पछिल्लो समय निकै चर्चामा रहेका कलाकार पवन खतिवडा म्याकुरी आउने तयारी भएको आयोजकले जनाएको छ । कोरोनाको दास्रो लहर सुरु भएकाले सरकारले कार्यक्रम गर्न प्रतिवन्द लगाएको अवस्थामा भने कार्यक्रम स्थगित हुनसक्ने जनाइएको छ ।

सम्बन्धित खवर