होली लक्षित गरी प्रदेश १ मा सुरक्षा व्यवस्था कडा

होली लक्षित गरी प्रदेश १ मा सुरक्षा व्यवस्था कडा

विराटनगर : होली पर्वलाई लक्षित गरेर प्रदेश १ को सुरक्षा व्यवस्था आज (आइतबार) बिहानैबाट कडा पारिएको छ ।

नेपालमा आज पहाडी र भोलि तराई क्षेत्रमा धुमधामसाथ होली मनाइँदै छ । होलीलाई मध्यनजर गर्दै प्रदेशभित्रका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधीमाथि निगरानी बढाएर कडाई गरिएको छ । ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको श्रेष्ठले बताए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले होलीमा उसृङ्खल र अवाञ्छित गतिविधी गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने बताए । उनका अनुसार जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र इच्छाविपरीतका कार्य गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।

डीआईजी कार्कीले कोरोनाको जोखिम बढ्दै गएका कारण विशेष सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै होली मनाउन सबैमा आग्रह गरेका छन् । जमघट र भिडभाड गरेर तथा समुदायमा मनाइने होलीका कारण कोरोना सङ्क्रमणको जोखिम अत्याधिक हुने भएकाले सबैलाई सावधानी अपनाउन र परिवारभित्र मात्रै होलीलाई कायम राख्न आग्रह गरिएको उनको भनाइ छ ।

उनका अनुसार चाडपर्व मनाउने नाममा नियमविपरीत गतिविधी गर्नेहरुमाथि प्रहरीले निगरानी बढाएको छ । उचित सुरक्षा प्रवन्ध मिलाइएका कारण आइतबार बिहानसम्ममा होली मनाउने नाममा प्रदेशभर कुनै पनि अप्रीय घटना हुन नपाएको डीआईजी कार्कीले बताए । उनका अनुसार विभिन्न अपराधिक घटना र अवाञ्छित गतिविधी हुने शङ्कास्पद स्थानलाई प्रहरीले आफ्नो निगरानी एवं नियन्त्रणमा राखेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले होलीलाई मध्यनजर गरेर प्रदेश राजधानी विराटनगरसहित जिल्लाभरको सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी दिए । उनका अनुसार जथाभावी र इच्छाविपरीतको गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी छ । मादक पदार्थ एवं नसाजन्य पदार्थको सेवनबाट हुनसक्ने सम्भावित घटना नियन्त्रण गर्नतर्फ पनि प्रहरी सचेत रहेको उनको भनाइ छ ।

होलीमा मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, नियमको पालना गर्न र कुनै स्थानमा हुनसक्ने सम्भावित घटनाका बारेमा तत्काल प्रहरीलाई खवर गर्न सबैमा आग्रह गरिएको एसपी खड्काले बताए । सुरक्षा व्यवस्था मजवुत बनाउँदै होलीलाई सुरक्षित र मर्यादित बनाउन तथा कुनै पनि घटना हुन नदिन आफ्नै नेतृत्वमा टोली लिएर खड्का आफै फिल्डमा खटिएका छन् । एसपी खड्का नेतृत्वको टोलीले सवारी साधन, शङ्कास्पद व्यक्तिहरु तथा पैदल यात्रु र होलीमा रम्नेहरुमाथिको चेकजाँच एवं निगरानीलाई तीव्र पारेको छ ।

सम्बन्धित खवर