विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाले केही नयाँ अनुहार समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नुभएका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि सो पदमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोहाङ थिए । उनले पद त्यागेपछि ताप्लेजुङका आङ्बुहाङलाई मन्त्री बनाइएको हो ।
प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल समूहमा रहनु भएका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले एमालेको संस्थापन पक्षमा हुनुहुन्छ । उहाहरुले संकटका बेलामा पनि नेतृत्वलाई सहयोग गर्नुभएको थियो ।
यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ । एमालेबाट सांसद बनेका उहा नेपाल समूह निकट भनिएको थियो । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । हाल प्रदेश १ मा चार जना मन्त्री छन् । अब ७ जनासम्म मन्त्री थपिने सम्भावना रहेको जनाइएको छ । अन्तिम नाम भने सपथ ग्रहणका बेला खुलाइने बताइएको छ ।