पथरी ।
मोरङको पथरी शनिश्चरे-१० स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगितामा बुधवारको खेलमा वडा नं. ३ विजयी भएको छ ।
खेलको सुरुवाती अग्रता वडा नं. ६ ले लिएता पनि खेलमा जम्दै अग्रतालाई निरन्तरता दिन नसक्दा नतिजा वडा नम्वर ३ लाई सुम्पन बाध्य भयो ।
वडा नं. ६ लाई सहजै रुपमा पराजित गरेको ३ ले ६ को गोलपोष्टमा ४ पटक जाली चुमाउदै दोस्रो चरण प्रवेशको ढोका खोल्यो ।
खेल सुरु भएको २ मिनेटमै वडा नं. ६ का सनम ब. तामाङले गोलको खाता खोलेका थिए । तर त्यसपछि वडा नं. ६ को गोलयात्रामा पूणर्विराम नै लाग्यो र हार व्याहोर्न बाध्य भयो ।
यस्तै वडा नं. ३ का तर्फबाट २१ औँ मिनेटमा जहरमान लिम्बु, ३३ औं मिनेटमा साराङ फागो, ५१ औं मिनेटमा प्रताप चेम्जोङले गोल गरेका थिए । १ गोल भने आत्मघाती गोल भएको थियो ।
बुधवारको खेलको प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ३ का जहरमान लिम्बु घोषित भए । उनलाई प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ र समाजसेवी विवेक लिम्बुले नगद रु. १५ सय र मेडल प्रदान गरेका थिए । विहीबारको खेल वडा नं. १० र ७ बीच हुने छ ।