ब्राजिलमा कोरोना भाइरसका कारण चौबीसघण्टामा तीन हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका कारण चौबीसघण्टामा तीन हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण झन् बढेको छ । ब्राजिली अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको जनाएको छ ।

योसँगै कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मंगलबार सम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका हुन् । यसअघि यही मार्चको २८ तारिखका दिन कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा ८० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका छन् ।मन्त्रालयले जनाएअनुसार केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । अहिले सम्ममा एक करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत सातादेखि नै कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो ।

पछिल्लो पटक भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको छ । अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमितहरु रहेका छन् भने पछिल्ला दिनहरुमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।

सम्बन्धित खवर