त्रिदेशीय फुटबलसँगै सन्न्यास लिँदै कीर्तिमानी खेलाडी महर्जन

त्रिदेशीय फुटबलसँगै सन्न्यास लिँदै कीर्तिमानी खेलाडी महर्जन

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक खेल्ने कीर्तिमान रक्षक विराज महर्जनको नाममा छ। दुई वर्षअघि आफ्ना गुरुकै नाममा रहेको सर्वाधिक खेलको कीर्तिमान उनले भंग गरेका थिए।

विराजको नाममा ७२ खेलको कीर्तिमान छ। उनका गुरु तथा पूर्वकप्तान राजुकाजी शाक्यले ६८ खेल खेल्दै राखेको कीर्तिमान उनले भंग गरेका हुन्। यी कीर्तिमानी पूर्वकप्तानले यसपटक दशरथ रंगशालामा राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्दै सन्न्यास लिने घोषणा गरिसकेका छन्।

दशरथ रंगशालामा अहिले त्रिदेशीय फुटबल प्रतियोगिता भइरहेको छ। जसमा किर्गिस्तानको यू–२३, बंगलादेश र नेपाली राष्ट्रिय टोली भिड्दै छन्। यही प्रतियोगितालाई विराजले अन्तिम बनाउने निर्णय गरिसकेका छन्।

‘पहिलेदेखि घरेलु मैदानमा खेल्दै विश्राम लिने सोच बनाएको थिएँ। यसपटक त्यो अवसर जुरेको छ,’ विराज भन्छन्, ‘यही प्रतियोगिताबाट मैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णयमा पुगेको छु। यसबारे एन्फालाई पनि जानकारी गराइसकेको छु।’

नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दै छ। जितेमा नेपालले अर्को खेल चैत १२ गते बंगलादेशविरुद्ध खेल्नेछ। नतिजा आफ्ना पक्षमा आयो भने नेपालले चैत १६ गते फाइनल खेल्नेछ। त्यसो भएमा त्यही खेलबाट विराजले बुट थन्क्याउनेछन्।

नेपाल फाइनलमा नपुगेका खण्डमा त्यसअघि नै विराज अन्तिमपटक राष्ट्रिय जर्सीमा उत्रनेछन्। कोरोना महामारीका कारण पछिल्लो वर्ष खेलकुदका कुनै गतिविधि भएनन्। त्यसअघि नै फिटनेसका कारण विराज एक वर्षदेखि प्रशिक्षकको रोजाइमा परेका थिएनन्।

अन्तिमपटक उनी २०१९ जुनमा मलेसियासँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा थिए।

त्यसयता गोलरक्षक किरण चेम्जोङले नेपाली टोलीको नेतृत्व गरिरहेका छन्। बिहीबार किर्गिस्तानविरुद्धको खेलमा पनि विराज उनकै कप्तानीमा खेल्नेछन्।

सम्बन्धित खवर