उदयपुर उदयपुरको कटारी नगरपालिकाकी ७२ बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला न्यायाधिश उत्तम सिलुवालको इजलासले सोमबार बलात्कार मुद्दामा कटारी नगरपालिका ३ हडैयाका ३१ बर्षिय वंशराज सदालाई कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । फैसलामा कसुरदारको जायजेथा नभएकाले सरकारले स्थापना गरेको पीडित राहत कोषबाट पीडितलाई ३५ हजार रुपैँया उपलब्ध गराउनसमेत आदेश दिइएको छ ।
साथै घटनामा मतियारकोरुपमा प्रयोग भएका सोही ठाउँका २३ बर्षिय मनोज सदालाई एक बर्ष दुई महिना कैद र पीडितलाई १५ हजार क्षतिपुर्ति भराउन आदेश दिइएको स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए । उजुरीमा पीडितलाई वंशराजले बलात्कार गर्दा मनोजले कुनै प्रतिवाद नगरी हेरेर बसेको आरोप छ ।
२०७६ फागुन ८ गते घाँस काटन गएको मौकाछोपी कसुरदारले बलात्कार गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । उजुरीसँगै पक्राउ परेका कसुरदारलाई अदालतले चैत्र २ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।