उदयपुरको कटारी नगरपालिका १० का सुजन थापाका तीन वर्षीय छोरा अरविन्द्रको आगोले जलेर मृत्यु भएको छ। आइतबार बेलुका करिब ६ बजे घर निजकै रहेको परालको कुन्युमा लागेको आगो घरमा सल्किँदा घरभित्र रहेका अरविन्दको जलेर मृत्यु भएको हो।
आगलागीबाट थापाको दुई तले कच्ची घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद एक लाख ५० हजार, बाख्राको गोठ र दुईवटा बाख्राको पाठासमेत जलेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
सुजनको घरबाट सल्किएको आगोले छिमेकी प्रकाश थापाको समेत घर जलेको छ। घरमा आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन र चाँदी, दुईवटा बाख्राको पाठा र भैंसीको पाडो समेत जलेको छ। आगलागीबाटट करिब २८ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै‚ अर्का छिमेकी मेखबहादुर थापाको समेत घर पूर्ण रुपमा जल्दा करिब २५ लाख बराबरको क्षति भएको छ।
उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुकी सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




