मोरङको सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा गरि तीनवटा बीओपी उद्घाटन

मोरङको सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा गरि तीनवटा बीओपी उद्घाटन

मोरङमा आइतबार सशस्त्र प्रहरीका तीनवटा बीपओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ।

मोरङको सुनवर्षी नगरपालिका-८ सिक्टी, रंगेली नगरपालिका-५ धनापट्टी र रतुवामाई नगरपालिका-३ मीर्चाडाँगीमा स्थापना गरिएका तीनवटा बीओपीको उद्घाटन गरिएको हो।

सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेपछि औपचारिक रुपमा तीनवटै बीओपी सञ्चालनमा आएका छन्।

सबै युनिटमा प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा टोली राखिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन स्थापना गरिएका बीपओपीमा क्रमशः जनशक्ति व्यवस्थापन र थप गर्दै जाने योजना छ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजबुद बनाउने उदेश्यले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने सरकारको नीति अनुरुप बीओपी स्थापना गरिएको डीआईजी दाहालले बताए। राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको मुख्य प्राथमिकतामा रहेको उनले बताए।

लागुऔषधको ओसारपसार, जडिबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए।

प्रजिअ निरौलाले सीमा क्षेत्रमा सुरक्षाकर्मी र नागरिक एकाकार भएर सबैखाले अवैध गतिविधि एवम् अपराध नियन्त्रणमा लिनुपर्नेमा जोड दिए। नगर प्रमुख दासले भारतीयका कारण सीमाका बासिन्दा वर्षौँदेखि पीडित भइरहेको अवस्थामा बीओपी स्थापनाले ठूलो राहत मिलेको बताए।

नेपाल सरकारले भारत तथा चीनसँग सीमा जोडिएका स्थानमा चालू आर्थिक वर्षभित्र ११४ वटा थप गर्दै मुलुकभर बीओपीको संख्या २२१ वटा पुर्‍याउने लक्ष्य लिएको छ। डीआईजी दाहालका अनुसार प्रदेश १ मा चालू आर्थिक वर्षको हालसम्म नयाँ २२ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेका छन्।

प्रदेश १ मा बीओपी संख्या ५१ पुगेको छ। भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन्।

सम्बन्धित खवर