पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै कुइनेटार

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै कुइनेटार

मोरङ र इलामको संगमस्थल कुइनेटार पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका र दक्षिणी इलामको चुलाचुली गाउँपालिका जोड्ने कुइनेटारमा झोलुंगे पुल बनेपछि नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको हो ।

पछिल्लो समय उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्न थालेको छ । झापा, मोरङ, सुनसरी र इलामका गरी दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय गायत्रीप्रसाद निरौलाले बताए ।

पर्यटक भारतलगायत अन्य देशबाट पनि आउने गरेको स्थानीय बताउँछन् । उपत्यकाजस्तै ठाउँ हुनु र चिसो हावापानि भएकाले गर्मीको सिजन सुरु भएपछि पर्यटक बढ्ने गरेका हुन् ।

चारैतर्फ पहाड, मनोरम झर्ना र राजारानीका मूर्ति, बुद्धटार यहाँका विशेषता हुन् । १० वर्षे जनयुद्धका बेला २०५८ मा राजा वीरेन्द्रको वंश विनास भएसँगै कुइनेटारमा राजारानीको प्रतिमा फेला परेको जनविश्वास अहिलेसम्म रहिआएको छ ।

सोही स्थानमा शान्तिका दूत गौतम बुद्धले शान्तिको आह्वान गरेको र त्यहाँबाट केही उत्तरतर्फको नाम बुद्धटार रहेको स्थानीय दीपक ढकाल बताउँछन् ।

कुइनेटारको पर्यटन प्रवर्द्धन गर्न पुलले ठूलो सहयोग पुगेको मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवीप्रसाद गौतमले बताए । कुइनेटारमा पैदल मार्गसमेत निर्माण गरिएको उनले जानकारी दिए ।

सम्बन्धित खवर