पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा रहेको झण्डाको बेहाल देखिएको छ ।
नगरपालिकाको कार्यालयमा राखिएको नेपालको झण्डा झुत्रो भएर च्यातिसक्दा पनि न त जनप्रतिनिधिको ध्यान गएको छ न त कर्मचारीको नै । नगरको मेयर उपमेयरको कार्यकक्ष रहेकै भवनमा झण्डाको बेहालत हुदा पनि बेवास्ता गरेको पाइएको हो । झण्डाको वरीपरी च्यातिनुका साथै चन्द्र, सुर्य समेत च्यातिएर झर्न लागेको अवस्था छ ।
कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा निम्नानुसार व्यवस्था भएको छ।
नेपालको राष्ट्रिय झण्डा
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
राष्ट्रिय झण्डाको आकार प्रयोग
- संबैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिट
- नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट
- संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट
- संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटर
- नेपाली नागरिकले राष्ट्रिय उत्सव/महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् ।
- राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३X२.५ फिट
- नेपाली नागरिकले बुँदा नं. ३ मा उल्लेख भए अनुसारका अतिरिक्त बुँदा नं. ६ मा उल्लेख भए बमोजिमको राष्ट्रिय झण्डाको समेत प्रयोग गर्न सक्नेछन् ।
- राष्ट्रिय_झण्डा_प्रयोग_सम्बन्धी_सूचना