मकै रोप्ने बेलामा वर्षा नभएपछि उदयपुरका कृषक चिन्तित

मकै रोप्ने बेलामा वर्षा नभएपछि उदयपुरका कृषक चिन्तित

उदयपुर : मकैखेती गर्नेबेलामा वर्षा नभएपछि पूर्विपहाडी क्षेत्रका कृषकहरु चिन्तित बन्न थालेका छन् ।

वसन्तपञ्चमी लागेसँगै उदयपुरका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती सुरु गरिने भएपनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

अहिले मकैखेती गर्ने समयमा एकपटक पनि वर्षा नभएपछि खेतीमा समस्या आउन थालेको रौतामाई गाउँपालिका–२ भुटारका कृषक कृष्ण खपाङ्गी मगर गुनासो गर्छन् ।

उनी भन्छन् , फागुनको पहिलो हप्ताबाट नै खेतबारी जोत्ने काम सकियो, अब मकै छर्ने बेला सुरु भयो तर वर्षा नहुँदा अहिले खेती गर्न निकै समस्या भएको छ ।” गढी गाउँपालिका भलायाडाँडाका कृषक हितबहादुर अधिकारी पनि समयमा मकै खेती गर्न नपाएको गुनासो गर्छन् ।

विगतका वर्षमा पुस, माघदेखि वसन्तपञ्चमीभित्र दुई÷चारपटक वर्षा हुने गरेका कारण जमीन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक वर्षा नहुँदा समस्या आएको अधिकारी बताउँछन् ।

पहाडी क्षेत्रमा वर्षेनी फागुनको दोस्रो हप्तादेखि मकै छर्ने गरे पनि अहिले फागुनको तेस्रो हप्ता जान लाग्दा पनि वर्षा नभएर खडेरी बढ्दै गएको कारण मकै छर्न ढिलाइ हुन थालेको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक विन्द्रबहादुर मगरले बताए ।

उदयपुरका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर रहँदै आएको कृषि ज्ञान केन्द्रले बताएको छ । उदयपुर जिल्लामा अठार हजार ४०० हेक्टर क्षेत्र जग्गामा मकैखेती हुँदै आएको केन्द्रले बताएको छ ।

 

सम्बन्धित खवर