लेटाङ उवासंघको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

लेटाङ उवासंघको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

लेटाङ, लेटाङ उद्योग वाणिज्य संघको २४ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संघको हलमा आयोजित सभामा प्रमुख अतिथि लेटाङ नगर प्रमुख शंकर राईले शुभकामना सहित नगरका योजनाहरु सुनाउनुभयो । पर्यटन व्यावसाय बढाउनका लागि संघको ६ करोड ९३ लाख र नगरको २ करोड ६० लाखमा २ वर्ष भित्र काम सक्नेगरी राजारानी क्षेत्र विकास गर्ने सम्झौता भएको, गुवाबारी देखि राजारानीसम्म केवलकार सञ्चालनका लागि डिपिआर तयार गर्न बजेट बिनियोजन गरेको, व्यावसायीहरुको सुरक्षाका लागि ठाउँ ठाउँमा सिसि क्यामेरा र सडक बत्ती जडान गरिसकेको र अब विभिन्न स्थानमा अस्थाइ प्रहरी चौकी राख्ने व्यवस्था मिलाउने राइले बताउनुभयो । कृषि व्यापार बढाउनका लागि कृषि आधुनिक भवन निर्माण थालेको, व्यापार वढाउनका लागि कानेपोखरी लेटाङ सडक दुई लेनको बनाउनका लागि डिपिआर समेत गरेको राईले बताउनुभयो । नगरले व्यापार व्यावसाय बढाउनका लागि गर्नुपर्ने कामका लागि संघले सुझाव दिए नगरले कार्यान्वयन गर्ने राइले बताउनुभयो ।

यसअघि कार्यक्रममा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा संघले कोरोना महामारीका बिचमा पनि व्यावसायीहरुको हितका लागि निरन्तर काम गरेको, कम्जोर आर्थिक अवस्था भएकाहरुका लागि खाद्य सामग्री बितरण गरिएको लगायतका कुराहरु समेटिएको छ ।

यस्तै महासचिव नेत्र प्रसाद निरौलाको अनुपस्थितीमा उद्योग सचिव कुवेर प्रसाद पौडेलले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो । महासचिवको प्रतिवेदनमा हालसम्म गरिएका कामहरुको वार्षिक प्रगति र आगामी कार्ययोजना समेटिएको छ ।

यस्तै संघमा विगत १० वर्षदेखि कार्यरत कर्मचारी दामोदर सुवेदीलाई नगद २ हजार ५ सय सहित सम्मान पत्रले सम्मान समेत गरियो । कार्यक्रममा संघको प्रदेश १ अध्यक्ष टिकाराम ढकाल, सदस्य कुमार पोख्रेल, उर्लाबारी उवासंघ अध्यक्ष प्रितम खड्गी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, लेटाङ वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङ, पूर्व अध्यक्षहरुको तर्फबाट हिक्मत बहादुर खड्का लगायतले सभाको सफलताको शुभकामना सहित आफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित खवर