लेटाङः बाल विवाह अन्त्यका लागि सरोकारवालासंग अन्तरक्रिया

लेटाङः बाल विवाह अन्त्यका लागि सरोकारवालासंग अन्तरक्रिया

लेटाङ, बाल विवाह अन्त्यका लागि मोरङको लेटाङमा सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।

दैनिक रुपमा बाल विवाह बढ्दै गएको अवस्थामा यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ, बाल विवाहको अवस्था कस्तो छ लगायतका विषयमा छलफल भएको हो । कार्यक्रममा नगर प्रमुख शंकर राई, उप प्रमुख कृष्ण कुमारी निरौला लगायत वडा अध्यक्षहरु र यससंग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पहुँचमा नहुनेहरुको मात्रै बाल विवाहको विषय बाहिर आउने तर पहुँच हुनेहरुको बाल विवाहको केशहरु बाहिर नआउने गरेका छन् । विद्यालयमा मात्रै हैन टोल टोलमा रहेका धर्मगुरुहरु, बचत समुहहरु, महिला, जेष्ठ लगायतका समुहहरुमा पनि बाल विवाहका विषयमा चेतना मुलक कार्यक्रम गर्नु पर्ने लक्ष्मी माविका शिक्षक पुर्ण बहादुर लिम्बुले बताउनुभयो ।

सडक नाटक, जनचेतनामूलक कार्यक्रम, चित्रहरु, स्टिकरहरु टाँस्ने व्यवस्था गर्नुपर्ने सागमा माविका शिक्षक वेदराज दाहालले बताउनुभयो । जनप्रतिनिधिहरुको पनि कार्यक्रममा सक्रियता बढाउनुपर्ने, आर्थिक रुपमा कम्जोर रहेका परिवार बाल विवाहमा बढि फसेकाले बाल बालिकालाई नै व्यवसायिक सीपहरुमा लगाउने हो भने बाल विवाहमा कमी आउँने दहालले बताउनुभयो ।

कयौं बाल विवाहहरु हुन्छन् तर रोक्ने कुरामा टोल बिकास संस्थाले वास्ता नगर्ने, विवाह रोके पनि पछि फलोअप नगर्दा फेरि भागिदिने, सम्पर्कमा नआउने जस्ता समस्या रहेको सहभागीहरुले राखे । विदेशमा बसेको अलिक राम्रो खान्दान भएको केटा माग्न आए अहिले दिन्छु भन्ने मानसिकताबाट टाढा रहनुपर्ने सहभागीहरुको भनाइ थियो ।

महिलाहरुले प्रयोग गर्ने प्याड महङ्गो छ । पुरुषहरुले आफ्नो रमाइलोका लागि प्रयोग गर्ने साधनहरु सस्तो हुने तर बाध्यात्मक रुपमा प्रयोग गर्नुपर्ने प्याड विद्यार्थीहरुले किन्न नसक्ने अवस्था रहेको लक्ष्मी प्रकृति बाल क्लवकी योजना खपाङ्गीले बताउनुभयो । राज्यले नै समान व्यवहार गर्न नसकेको खपाङ्गीको बुझाइ छ ।

कानुनी रुपमा पनि समस्या रहेको वडा नं २ का अध्यक्ष तेज प्रसाद तिम्सिनाले बताउनुभयो । १७ वर्षमा विवाह गर्ने, १८ वर्षमा बच्चा जन्मिन्छ, विवाह दर्ता २१ वर्ष नपुगी नहुने र विवाह दर्ता गरेर बच्चाको जन्मदर्ता गर्दा ५ वर्ष उमेर घटाएर गर्नुपर्ने बाध्यता रहेको तिम्सिनाले बताउनुभयो । त्यसरी सानै उमेरमा गरिएको विवाहले परिवार समेत राम्रोसंग चलाउन नसकेर डिभोर्स हुने संख्या बढ्ने र बालबालिकाको समेत बिजोग हुने अवस्था रहेको तिम्सिनाको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय लेटाङमा विगत ३ वर्षदेखि एउटै बाल विवाहका केश नआएको प्रहरी निरिक्षक रोमनराज अर्यालले बताउनुभयो । बाल विवाहको अवस्था भयावह छ भनेर भनिरहँदा इलाकामा भने एउटै केह नभएको अर्यालले बताउनुभयो । कुनैपनि अपराधका सूचना प्रहरीमा आएमा त्यसको कार्यान्वन गर्न सदैव तयार रहेको अर्यालले प्रतिवद्धता पनि गर्नुभयो ।

उपप्रमुखहरुको संवाद समुहमा समेत बाल विवाहको अन्त्यका लागि १७ वटै पालिकामा कार्यक्रम गर्ने उप प्रमुख कृष्ण कुमारी निरौलाले बताउनुभयो । उपमेयरसंग बालिका कार्यक्रम पनि हरेक बिद्यालयमा ल्याउने अन्तिम चरणमा रहेको निरौलाले जानकारी दिनुभयो । बाल विवाहको केशमा आफैलाई समेत दवाद आउने गरेको निरौलाले बताउनुभयो ।

उमेर नपुगी विवाह गर्ने समस्याले पछि छोरा छोरीमा समेत असर गर्ने नगरप्रमुख शंकर राईले बताउनुभयो । सानै उमेरमा विवाह भएपछि घर व्यवहार चलाउन नसक्ने, छोडपत्र गर्ने र छोरा छोरीको भविष्य नै अन्यौल बनाउने राईले बताउनुभयो । कुनैपनि वडामा त्यस्ता घटनाहरु भएको खण्डका तत्काल सूचना दिन राईले अनुरोध गर्नुभयो । सबैले पहिला आफुबाट परिवर्तन गर्न जरुरी रहेको कुरामा राईको जोड थियो ।

कार्यक्रम पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा भएको हो । लेटाङ नगरपालिका, किण्डर मिसन वर्कको आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल ललितपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । हर्डनले लेटाङमा बाल विवाह बिरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । लेटाङ बाहेक केराबारी र मिक्लाजुङ पनि हर्डनको कार्यक्षेत्रमा पर्ने हर्डनका कार्यक्रम संयोजक शुरेस अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर