६५ वर्षमाथिकालाई आजबाट कोरोना विरुद्धको खोप दिन सुरु

६५ वर्षमाथिकालाई आजबाट कोरोना विरुद्धको खोप दिन सुरु

पथरी, मोरङको पथरी शनिश्चरे नगरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आजबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ ।

चैत ३ सम्म सञ्चालन हुने कोरोना भाइरस विरुद्ध निःशुल्क खोप कार्यक्रम वडा वडाका खोपकेन्द्रमार्फत सञ्चालनको तयारी भएपनि संघीय सरकारले स्वास्थ्य संस्थाबाट मात्र खोप प्रदान गर्न हिजो निर्णय गरेको हो । सो अनुरुप आज वडा नम्बर २ को नगर अस्पताल, ९ को शनिश्चरे स्वास्थ्य चौकी र ५ को हसन्दह स्वास्थ्य चौकीमा खोप प्रदान गरिएको छ । तीन स्थानका स्वास्थ्य संस्थामा आआफ्नो पायक पर्ने वडाहरुबाट ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुले खोपको सेवा लिएका छन् । आज १३४ पुरुष र ८८ महिला गरी २२२ जनाले खोप लगाएको स्वास्थ्य कर्मचारी जगत मगरले जनाउनु भयो । खोप लगाएपछि सहभागिलाई खोप कार्ड प्रदान गरिएको छ ।

गर्भवती, स्तनपान गराइरहेका र गर्भको योजना बनाएका महिला, मृगौलाको डाइलोसिस गरिरहेका, मुटुको गम्भीर विरामी, १८ वर्ष उमेर पुगेका व्यक्ति, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिहरु बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने संघीय सरकारले जानकारी गराएको छ । खोप लगाउन नमिल्ने बाहेकका तोकिएको उमेर समूहका सवैले खोप लगाएर कोरोना भाइरसबाट सुरक्षित बन्न नगरपालिका कार्यालयले सवैमा अनुरोध गरेको छ ।

सोही समयमा नगरमा बालबालिकाको मासिक नियमित खोप सेवा समेत सञ्चालन भएको छ ।

सम्बन्धित खवर