सप्तरी, सप्तरी सदरमुकाम राजविराजमा आईएमई सेवा प्रदान गर्दैआएका स्थानीय मारबाडी दाजुभाई सेवाग्राहीको करोडौं रकम लिएर फरार भएका छन् ।
राजविराज नगरपालिका वडा नम्बर ५ स्थित आफ्नै घरमा बसोवास गर्दैआएका संजय सिन्धी र सुनिल सिन्धी(जैन)ले राजविराजमा आईएमई सेवा प्रदान गर्दैआएका थिए । सोही आईएमई माफ्र्त वैदेशिक रोजगारमा रहेका र अन्य ब्यक्तिहरुले आ–आफ्ना घर परिवारकालागि पठाएका करोडौं रकम लिएर सिन्धी दाजुभाई पछिल्लो तीन दिनदेखि फरार भएका हुन् ।
सिन्धी परिवार सप्तरीमै एउटा प्रतिष्ठित ब्यापारीको रुपमा गनिंदैआएका थिए । सिन्धी दाजुभाईले राजविराजस्थित गजेन्द्र चौकमा कपडा पसलसँगै आईएमई सेवा प्रदान गर्दै आएका थिए ।
तर, तीन दिनअघि एकाएक राजविराजमा रहेको घर, जग्गाजमीनसमेत गोप्यढंगले बिक्री गरेर सिन्धी दाजुभाई परिवारसहित अन्यत्र फरार भएका हुन् ।
सिन्धी दाजुभाईले आईएमईमा आएका रकम सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्नुपर्नेमा कम्प्यूटर र इन्टरनेटमा समस्या आएको भन्दै कतिपय गाउँघरका सोझा सेवाग्राहीको रकम आईडी लिई औठाछापसमेत लगाएर भोली पर्सी आउनु भनि फर्काएका थिए । तर, पछिल्लो तीन दिनदेखि सिन्धी दाजुभाईले राजविराजमा सञ्चालन गर्दैआएको आईएमईको कार्यालयसमेत बन्द भएपछि मात्र उनीहरु फरार भएको तथ्य सार्वजनिक भएको हो ।
‘मलेसियाबाट छोरा प्रमोदले आईएमई माफ्र्त पठाएको २ लाख १८ हजार रुपैयाँ आफुले पाउन सकेन’, बुधवार जिल्ला प्रहरी कार्यालयमा आफ्नो रकम लिएर आईएमई सञ्चालक फरार भएको भनि उजुरी दिन गएका सप्तरी विष्णुपुर गाउँपालिकाका ७ का बिन्देश्वर मण्डलले भने, ‘कम्प्यूटर र नेटमा समस्या रहेको भन्दै सुनिलले रकम भुक्तानी आईडीमा पहिले नै साईन गराएको थियो र बुधवार रकम लिन आउन भनेको थियो, तर बुधवार आउँदा त उनीहरु फरार भएको थाहा पाउँदा आफ्नो बिचल्ली भएको छ ।’ छोराले विदेशमा पसिना बगाएर कमाएको रकम लिएर यसरी फरार हुनेको खोजी गरी रकम फिर्ता र कारबाहीसमेत गर्न स्थानीय प्रशासनसमक्ष उनले माग गरे ।
रकम नपाउनेमा मण्डल मात्र छैन, मण्डलसँगै डाँक्नेश्वरी नगरपालिका २ की लालो खातुनले पनि सोही आईएमईबाट ९ लाख रुपैयाँ पाउनुपर्ने हो । तर, उनले पनि उक्त रकम पाउन नसेकेको गुनासो गरिन् । लालोका छोराले कतारबाट बहिनीको बिहे गर्न ९ लाख रुपैयाँ आईएमई गरेका थिए ।
यसैगरी विष्णुपुर गाउँपालिकाकै रामप्रित यादव, महदेवा गाउँपालिकाका विनोद मण्डल, श्यामादेवी मण्डल, राजगढ गाउँपालिकाका दिनेश मण्डल, डाँक्नेश्वरी नगरपालिका ५ का महेश महतो, राजविराज नगरपालिका २ का श्रवण दाससहितकाको दुई करोड बढी रकम सिन्धी दाजुभाई लिएर फरार भएका छन् ।
यसबाहेक पनि आफ्नो रकम भुक्तानी नगरी सिन्धी दाजुभाई फरार भएको भनि गुनासो गर्नेहरुको संख्या बढ्दै गएको छ । यता आईएमई सञ्चालक सिन्धी दाजुभाईले रकम नदिई फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिने पीडितहरुको संख्या पनि अत्यधिक देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे जानकारी भएको जनाएको छ । ‘आईएमई सञ्चालकले रकम लिएर फरार भएको भनि उजुरी आईरहेका छन्’, सप्तरी प्रहरीका प्रवक्ता डीएसपी भुवनेश्वर साहले भने, ‘हामीले उजुरी लिंदै आवश्यक अनुसन्धान पनि अगाडी बढाएका छौं ।
आईएमई सञ्चालक सिन्धी दाजुभाईमध्ये दाजु संजय सिन्धी राजविराज जेसिजका पूर्व अध्यक्षसमेत हुन् । फरार भएका सिन्धी दाजुभाईमध्ये कसैको पनि मोबाईल सम्पर्क भईरहेको छैन भने उनीहरु समाजिक सञ्जालबाट पनि सम्पर्कबिहिन भएका छन् ।