प्रहरीद्वारा यातायात कार्यालय जनकपुरमा छापा, १५ जना दलाल नियन्त्रणमा

प्रहरीद्वारा यातायात कार्यालय जनकपुरमा छापा, १५ जना दलाल नियन्त्रणमा

लहान, दलालहरुले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ ।

सेवाग्राहीको गुनासो बढेपछी यातायात कार्यालयमा भ्रष्टाचार तथा बिकृति बढेको भन्दै छापा मारेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । सेवाग्राहीबाट मोलमोलाई गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको रानाभाटले बताए ।

जनकपुरको मुजेलिया स्थित यातायात कार्यालयमा धनुषा प्रहरीले आज छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको हो । सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउन दलालहरुले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरुसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेको थियो । निकै लामो समय देखि निगरानी बढाएको प्रहरीले आज छापा मारेको हो ।

धनुषा प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका (दलाल) एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो । कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरुले यातायात कार्यालयका कर्मचारीलाइ पनि पक्राउ गर्नुपर्ने बताएका छन् । कर्मचारीले कमिसनमा काम गर्ने भन्दै एजेन्टहरुले आफुहरुलाई कार्वाही हुदा कर्मचारीलाई पनि हुनुपर्ने माग गरेका हुन् ।

सम्बन्धित खवर