काेराेना खाेपमा सघाउन महिला स्वास्थ्य स्वयमसेवीकालाई तालिम

काेराेना खाेपमा सघाउन महिला स्वास्थ्य स्वयमसेवीकालाई तालिम

पथरी, मोरङको पथरी शनिश्चरे नगरका ५५ वर्षमाथिका व्यक्तिहरुलाई फागुन २३ देखि चैत ३ सम्म सञ्चालन हुने कोरोना भाइरस विरुद्ध निःशुल्क खोप अभियानमा सहयोग पुर्याउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आज तालिम दिइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको उपस्थितीमा नगरको स्वास्थ्य शाखाले आयोजना गरेको तालिममा स्वास्थ्य कर्मचारी जगत मगर र एकराज खत्रीले सहजिकरण गर्नुभयो । उहाँहरुले टोल टोलबाट खोपकेन्द्रमा लक्षित समूहलाई भेला गराउन र खोप लगाउने स्वास्थ्यकर्मीका लागि सहयोग पुर्याउनु पर्ने जनाउँदै कोरोना र यसको खोपका बारेमा जानकारी गराउनु भयो ।

२१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि चैत ३ गतेसम्म खोपकेन्द्रहरु मार्फत खोप सञ्चालनको निर्णय भएको छ । अव सञ्चालन हुने तेस्रो चरणको खोपमा ५५ वर्षमाथिका नागरिकका साथै शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालकहरुलाई सहभागि गराइने जानकारी गराइएको छ ।

गोष्ठीमा कोरोना भाइरस र यसको खोपका बारेमा सहजिकरण गर्दै स्वास्थ्य शाखाका जगत मगरले गर्भवती र स्तनपान गराइरहेका र गर्भको योजना बनाएका महिला, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिहरु बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने प्रष्ट्याउनु भयो । ५५ वर्षमाथिका नागरिक तथा १८ वर्षमाथिका शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालक गरी यो चरणमा नगरमा करीव ८ हजार ५ सय ८८ जनालाई खोप लगाउने लक्ष्य बनाइएको स्वास्थ्य शाखाका एकराज खत्रीले उल्लेख गर्नुभयो । साथै उहाँले खोप लगाउन आउँदा आफ्नो उमेर प्रष्टिने कागजात लिएर आउन आवश्यक रहेको समेत जानकारी गराउनु भयो ।

खोपलाई प्रभावकारी बनाउन प्रचार प्रसारका साथै यसको योजनामा जुट्न यसखाले बैठक वडा खोप समन्वय समितिसँग समेत तत्काल सञ्चालन हुनेछ ।

हसन्दह स्वास्थ्य चौकी अन्तर्गत वडा नम्बर ५ को जनता आधारभूत विद्यालय सुन्दरीचोकमा २३ गते, सहीद रामलक्ष्मण आधारभूतमा २४ गते, सुगाहाट माविमा २५ गते, अमरसिंह माविमा २६ गते र ६ नम्बरको शहरी स्वास्थ्य केन्द्रमा २७ गते खोप लगाउने कार्यक्रम छ । त्यसैगरी, ६ नम्बरकै रामजानकी आधारभूतमा २८ गते, दुर्गा आधारभूतमा २९ गते, शिक्षा सदनमा चैत १ गते र ५ को हसन्दह स्वास्थ्य चौकीमा २ र ३ गते खोप लगाउने तालिका बनेको छ ।

शनिश्चरे स्वास्थ्य चौकी अन्तर्गत ८ नम्बरको सोमबारे खोप केन्द्रमा फागुन २३ गते, ९ नम्बरको पुरानो स्वास्थ्य चौकी भवनमा २४ गते, १० को मंगलबारे डाँडामा २५ गते, ४ को बालकल्याण माविमा २६ गते, ८ को शुक्रबारे खोप केन्द्रमा २७ गते, ४ को सरस्वती आधारभूतमा २८ गते र शनिश्चरे स्वास्थ्य चौकी भवनमा २९ तथा चैत १ र २ गते खोप लगाइने छ ।

पथरी नगर अस्पताल अन्तर्गत ३ नम्बरको किरात चोकमा फागुन २३ गते, वीरेन्द्रनगरको ज्येष्ठ नागरिक भवनमा २४ गते, २ को बोक्रे चोकमा २५ गते, १ को शहरी स्वास्थ्य केन्द्रमा २६ गते र २ को नगर अस्पतालमा २७ देखि चैत ३ गतेसम्म खोप सञ्चालन हुने भएको छ । सोही समयमा मासिक नियमित खोप सेवा समेत सञ्चालन हुनेछ ।

सम्बन्धित खवर