पोखरा : नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति कास्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पोखरामा कालो झण्डा प्रदर्शन गर्ने तयारी गरिरहेको अवस्थामा संघ सम्बद्ध विद्यार्थीहरुलाई पक्राउ तथा घरमा नै नियन्त्रणमा राखेकोमा भत्र्सना गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कार्यप्रति भत्र्सना गरेको हो ।
आज बिहान प्रधानमन्त्री ओलीविरुद्ध कालो झण्डा प्रदर्शन गर्ने तयारी गरिरहँदा संघ कास्कीका नेता तथा पोखरा विश्व विद्यालयका नेताहरु रनेशचन्द्र जोशी, प्रताप बानियाँ, अशिम सुवेदी, सन्देश खत्री, अमन क्षेत्री, दिवस रानाभाट, शुसान पौडेल तथा खेम बराललाई प्रहरीले स्टेज पछाडिबाट नै पक्राउ गरेको थियो । ‘कास्की प्रहरीले घाँटी न्याक्दै, कुटपिट गर्दै, अभद्र व्यवहारसहित पक्राउ गरेको घटनाको नेवि संघ कास्की घोर भत्र्सना गर्छ ।’ नेवि संघ कास्कीद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले पोखरा विद्याविद्यालयका सभापति फिरोज सुवेदी तथा संघका नेताहरु निर्दोषविक्रम पौडेल, प्रविण ओझा तथा सिभिर श्रेष्ठलाई उनीहरु बसिरहेकै स्थानबाट अभद्र व्यवहार गरेर पक्राउ गरिएको आरोप लगाएको छ । संघले विज्ञप्तिमा उल्लेख गरेअनुसार निर्दोषविक्रम पौडेललाई प्रहरीले उनकै घरमा बाहिर निस्कन नदिएर नियन्त्रणमा राखिएको छ ।
‘यसबाट प्रष्टरुपमा कास्की प्रहरी सत्ताधारी नेकपाको मतिहार बनेर प्रहरी नै नेकपाको भातृ संगठन शैलीमा प्रस्तुत भएको देखिन्छ ।’ विज्ञप्तिमा भनिएको छ । संघले प्रहरीद्वारा पक्राउ गरिएका विद्यार्थी नेता तथा घरमा नै नियन्त्रण गरिएकालाई तरुन्त बिना सर्त रिहाई नगरेको अवस्थामा देशभरीले आन्दोलन गर्ने चेतावनी दिएको छ ।