पंजिकरण विभागको वेवासाइटले काम दिएन, ५ पटक धाउदा पनि जन्मदर्ता बन्दैन

पंजिकरण विभागको वेवासाइटले काम दिएन, ५ पटक धाउदा पनि जन्मदर्ता बन्दैन

भीमराज अधिकारी, पथरी
एउटा जन्मदर्ता बनाउन कति दिन धाउनु पर्छ ? यसको जवाफ न वडा सचिवले दिन सक्छन् न त विभागका कर्मचारीले नै । मोरङको पथरी शनिश्चरे वडा नं. ८ का बिजय लिम्बूले ५ दिनसम्म वडामा धाउदा पनि छोराको जन्मदर्ता पाउन सकेनन् ।

राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको भाइटल रजिस्टर सिस्टम नचलेपछि सेवाग्राहीले हैरानी व्यहोरी रहेका छन् । लिम्बूले फागुन ६ गते वडा कार्यालयमा छोराको जन्मदर्ताका लागि सूचना फाराम भरेर निवेदन दिए तर ११ गतेसम्म पनि छोराको जन्मदर्ता हात नपरेपछि ‘सर भोली चाहीँ जसरी पनि दिनु है’ भन्दै लिम्बू घर लागे । छोराको पढाइका लागि स्कुलमा जन्मदर्ता बुझाउनुपर्ने भएकाले ताकेता गरेको लिम्बूले बताए ।

सिस्टमले काम नगरेपछि वडा सचिव लिलाराज भट्टराई पनि हैरान छन् । अहिलेसम्म २५ वटा घटना दर्ताका फायल पेन्डिङमा रहेको भट्टराईले बताए । वडामा दैनिक १०/१२ वटा सम्म घटना दर्ता आउने गरेका छन् । पंजिकरण विभागमा फोन गर्दा फोन नै नउठ्ने भट्टराईले बताए । २ पटकसम्म गुनासो लेखेर पठाएँ तर काम भएन भट्टराईले भने १० मिनेटसम्म घुमिरहन्छ काम हुदैन दिनमा २ काम गर्न पनि गाह्रो छ ।

वडा नं. ८ मा मात्रै हैन् यो समस्या नगरभरी नै छ । छुट्टीको दिनमा भएपनि बसेर काम गर्ने गरेको वडा नं. ५ का सचिव रोशन पोख्रेलले बताए । अहिलेपनि केही फायलहरु पेन्डिङमा रहेका छन् तर बेलुका अबेरसम्म बसेर काम गर्ने गरेको छु पोख्रेलले भने कतिजनाले त ५/७ दिनमा मात्रै लैजान पाउनुहुन्छ । यता वडा नं. ६ मा पनि सिस्टम उस्तै नै छ । काम सजिलो हुदैन ढिलो भएपनि चलाउनै पर्ने मन्दिरा दाहालले बताइन् ।

वडा नं. ३ का भिम बहादुर लिम्बूको ४ दिन धाउदा पनि बिहेदर्ता बनेन । सिस्टमले काम नगरेपछि सेवाग्राहीले दुःख पाउने गरेको सचिव जीत बहादुर लिम्बूले बताए । शनिबार अरु छुट्टिको दिनमा पनि काम गरेर दिनुपर्छ लिम्बूले भने ४/५ दिन देखिका् पेन्डिङ फायल ११ वटा छन् । यता वडा नं. २ की सचिव इन्दु सुवेदीले चाही घरमै फायल लगेरका भएपनि डाटा इन्ट्रि गर्ने गरेको बताइन् । आफ्नै काम हो सिस्टमले काम गर्दैन घरमा गरेर भएपनि सेवा दिन्छु सुवेदीले भनिन् । जति गुनासो गरेपनि विभागले बेवास्ता गरेकाले सेवाग्रही मार्कामा परेको सुवेदीको भनाइ छ ।

वडा नं. ७ का सचिव सरोज भट्टराईले अबेरसम्म बसेर काम गर्ने र भोली पर्सि दिने गरेको बताए । कम्तीमा २÷३ दिनमा सेवा पाउछन् भट्टराईले भने सिस्टम एकदमै स्लो छ । यी वडाहरु बाहेक अन्य वडाहरुमा पनि यस्तै समस्या छ । सामान्यतः एउटा घटना दर्ताका लागि वढिमा १० मिनेट समय लाग्छ तर सिस्टम नै स्लो भएपछि दिनभरमा २ वटा काम पनि नहुने गरेको छ ।

एक त सिस्टम नै स्लो चल्छ फेरी नयाँ आउने वडा सचिवहरुलाई तालिमको व्यवस्था नभएकाले पनि काम गर्न समस्या भइरहेको छ । घटना दर्ता का विषयमा कुनै पनि तालिम नदिँदा काम गर्न समस्या हुनेगरेको सचिवहरुको गुनासो छ ।

कार्यालय समयमा सबैतिर एकैपटक सिस्टम चल्ने भएकाले स्लो हुनेगरेको नगरको सामाजिक सुरक्षा शाखा प्रमुख जमुना दाहाल बताउछिन् । देशैभर एउटै सिस्टम चल्ने भएकाले कार्यालय समयमा स्लो नै हुन्छ हामीले पटक पटक विभागमा जानकारी गराएका छाैँ दाहालले भनिन् खै समस्या चाहिँ उस्तै छ भनेर वडाबाट गुनासो आइरहन्छ । विभागमा फोन नै उठ्दैन, उठिहाल्यो भने अब हुन्छ भन्ने आश्वासन चाहिँ आउने गरेको दाहालले बताइन् । सबै वडा सचिवहरुलाई पनि घटना दर्ता र सामाजिक सुरक्षाका विषयमा तालिम दिने तयारीमा रहेको दाहालले जानकारी दिइन् ।

विभागको जवाफ यस्तो

अनलाइन सिस्टम स्लो भएकाले अफलाइन सिस्टमबाट पनि काम गर्न सकिने व्यवस्थापन गरेको विभागका व्यवस्थापन इन्जिनियर प्रदिप बुढाथोकीले बताए । अनलाइनमा काम गर्दा स्लो भएपछि करिब २०/२५ दिन अगाडीबाट अरु तरिकाबाट पनि काम गर्ने व्यवस्था मिलाएका छौँ बुढाथोकीले भने सायद सचिव सरहरुलाई थाहा भएन होला हामी सबैतिर सूचना पु¥याउछौँ र सामाजिक संजालमा पनि यो विषय राखिसकिएको छ ।

घटना दर्ता घटना भएको ३५ दिन भित्रमा गरिसक्नुपर्ने सरकारी प्रावधान छ । जन्म दर्ता अझ नागरिकको राज्यबाट पाउने पहिलो अधिकार हो । जन्म, मृत्यु, बसाँइसराई, बिवाह, सम्बन्धविच्छेद घटना दर्तामा पर्दछन् । यस बाहेक सामाजिक सुरक्षा (जेष्ठ नागरिक, अपाङ्गता, एकल महिला लगायत) भक्ताहरु पनि भाइटल सफ्टवेर मार्फत नै हुने गरेको छ । यसरी आम नागरिकले सेवा पाउने राज्यको तल्लो तह वडा वडामा काम चुस्त रुपमा हुन सकेन भने राज्यको उपस्थिती कहाँ रहन्छ ?

सम्बन्धित खवर