काठमाडौँ जिल्ला अदालतमा इजलासमै अधिकृत र फाँटका कर्मचारीबीच सोमवार कुटाकुट भएको छ । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते हुनुभएको छ ।
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएका थिए ।
घटना बिवरणअनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको थियो । यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको अदालत स्रोतले जनताटाइम्सलाई जानकारी दियो । अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताउनुभयो ।
‘घटना भएको छ । दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन् । सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ । उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ,’ निरौलाले भन्नुभयो, ‘हामी अनुसन्धानका क्रममा छौँ । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ ।’
निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । सो घटनामा घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।