पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७ चल्दै

पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७ चल्दै

पथरी, सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा हिजोबाट ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ सुरु भएको छ ।

२ दिने महोत्सवको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (के के) कर्माचार्यले उद्घाटन् गर्दै शहरोन्मुख बन्दै गएको पथरीशनिश्चरे क्षेत्रले कला सृजनाप्रतिको जागरण ल्याएको उल्लेख गर्नुभयो । उहाँले कलाले सद्भाव, एकता, शान्ति कायम गराउने भावनाको विकास गर्ने जनाउँदै स्थानीयले सृजनाको मर्म बुझ्न थाल्दै गएकाले यसको उचित कदर हुने आशा पलाएको बताउनु भयो । स्थानीयले समेत चासो लिएर यो कार्यक्रममा सहभागिता जनाउँदै सृजनामा साथ दिँदा यसले सवैको उन्नती गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘यहीखाले उत्साह र साथले यस नगरमा कक्षा ११ र १२ मा फाइन आर्टको पढाई सुरु गरेर ऐतिहासिक काम थालिएको रहेछ, ज्यादै खुसी लाग्यो ।’ उहाँले क्यान्भासमा अर्धअमूर्त चित्र तयार गरेर कार्यक्रमको उद्घाटन् गर्नुभएको थियो । उद्घाटनमा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका नगरका विभिन्न सामाजिक क्षेत्रका अगुवाहरुको समेत साथ दिएका थिए ।

पथरी शनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र कला साहित्य प्रवद्र्धन समितिको सहआयोजनामा वडा नम्बर १ स्थित शान्ति भूल्के सिमसार क्षेत्रमा जलरंग महोत्सव सुरु भएको हो । महोत्सवमा कला र पर्यटनलाई जोड्ने योजनाका साथ शान्ति भूल्के सिमसार र नगरको प्रयासः कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ नारा अघि सारिएको छ । नेपालका ख्यातिप्राप्त जलरंग कलाकार सहित भारतका समेत कलाकारका साथमा प्रदेशका कलाकारहरुको सहभागिता रहेको छ ।

फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत वितरण गरिएको छ । १० हजार राशी, मुहारचित्र, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार १ नम्बर प्रदेशका परम्परागत चित्रकलाका अगुवा विराटनगरका ध्रुवनारायण डंगोललाई प्रदान गरिएको छ ।

‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक मावि स्तरीय चित्रकला प्रतियोगितामा वडा नम्वर ३ को जनता माविका बविन लिम्बू प्रथम, ७ को चन्द्रकिरातेश्वर माविका हाङ्छा राई द्वितीय र दुर्गा माविकी सुमी राई तृतीय भइ पुरस्कृत भएका छन् ।

महोत्सवमा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गंगा सुवेदी, सरोजा खड्गी, ख्यातिप्राप्त जलरंग कलाकारहरु एनबी गुरुङ, महेन्द्र राई, पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङ्देन, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङ, कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले मन्तव्य व्यक्त गर्नुभयो ।

एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलको अध्यक्षतामा सम्पन्न महोत्सवमा, जलरंग क्षेत्रका स्थापित कलाकारहरु पोखरका एनबी गुरुङ, पाल्पाका डीराम पाल्पाली, भक्तपुरका दिपेन्द्रमान बनेपाली, राजेन्द्रप्रसाद याकामी, आशुराम खाइजू, चितवनका डी बराल, संखुवासभाका डीबी याम्फूको अगुवाईमा प्रदेशका स्थापित कलाकारहरु सम्मिलित हुनुहुन्छ । साथमा, धनकुटाका डिल्लीकृष्ण आले, सुनसरीका प्रनोद दत्त, महेन्द्र राई, झापाका पवन राजवंशी, युवराज रिजाल, मोरङका शिव छाङछा राई, डा। विजुकुमार थपलिया र जयप्रकाश चौधरीको जलरंग चित्रकलामा आफ्नो सहभागिता जनाउनु भएको छ । भारतको जलपाइगुडीका अम्लेस मजुम्दर र विरेन्द्र सिंहको पनि सहभागिता रहको छ । उनीहरुले स्थानीय नवोदित जलरंग कलाकारका लागि उत्प्रेरणा भर्दै पथरी शनिश्चरेका पर्यटकीय तथा मौलिक पक्षहरुको चित्र उतार्ने काम थालेका छन् । अतिथिहरुलाई स्थानीय धिमाल जातिले आफ्नै मौलिक भेषभुषा लगाई तयार गरेको मौलिक खाजा भक्का खाजा खुवाइएको र खानामा नगरको पहिचानका रुपमा रहेको सिमसागको तरकारीको स्वाद समेत चखाइएको छ ।

तिनै कलाकारहरु फागुन ४ गते विरानगरमा ‘विराट राजदरवार ः इतिहास उजागर ’ भन्ने मर्मका साथ चित्रकला काब्यशालामा सहभागि हुने छन् । विराटनगर महानगरपालिका कार्यालयको सहयोग र ललितकला संगमको सहकार्यमा विराट राजाको ऐतिहासिक दरबार रहेकोस्थल विराटनगर १८ मा एभरेष्ट आर्ट फ्यूजनले नै सो कार्यक्रम गर्ने भएको छ । २ दिनसम्म चल्ने कार्यक्रमको आज समापन गरिदैछ ।

सम्बन्धित खवर