काठमाडौं : सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउने पाउने छन्।
यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप लगाउन जाँदा परिचय पत्र साथमा अनिवार्य बोक्नुपर्ने छ।
अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले तेस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको गौतम बताउछन्। खोपको सदुपयोगका लागि स्वास्थ्य मन्त्रालयले अत्यन्तै सोचविचारका साथ कोलचेन मेन्टेन गर्दै प्रयोगका लागि वितरण गर्दै आएको गौतमको भनाइ छ।
कोरोनाविरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म लगाइएको थियो।
पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार गत सोमबारदेखि ५ दिन खोप लगाएको थियो।
भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो।