जनयुद्ध सगरमाथा र बुद्धजस्तै नेपालको पहिचान बनेको छ : पौडेल

जनयुद्ध सगरमाथा र बुद्धजस्तै नेपालको पहिचान बनेको छ : पौडेल

पाेखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्धपनि देशको पहिचान बनेको बताएका छन् । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको जनयुद्धको सम्झना स्वरुप नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको पहिचान जनयुद्धपनि भएको बताएका हुन् । ‘अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान विश्वको सर्बोच्च शिखर सगरमाथा, बुद्धको जन्मभूमि भनेजस्तै जनयुद्धपनि पहिचानका रुपमा स्थापित भएको छ’–उनले भने ।

नेता पौडेलले जनयुद्ध र जनआन्दोलनको दुबैको बलमा गणतन्त्र स्थापना भएको बताए । गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलन दुबैको उत्तिकै र महत्वपूर्ण योगदान रहेको उनको भनाई थियो । जनताको सहयोगमा जनयुद्ध सफल भएको भन्दै उनले प्राप्त उपलब्धी रक्षाका लागि भइरहेको प्रतिगामी कदमबिरुद्धको आन्दोलनमा पनि जनताको साथ रहने विश्वास व्यक्त गरे ।

नेता पौडेलले जनताको सहयोगमा जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र प्राप्त भएपनि त्यसको स्वामित्व नलिएका केपी ओलीको हातमा नेतृत्व गएकाले गणतन्त्र धरापमा परेको बताए । कमरेड केपी ओलीको उदय जनयुद्ध विरोधीका रुपमा भयो,उनले भने,‘हाम्रो प्रणाली एकातिर गयो, नेतृत्व अर्कोको हातमा पुग्यो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको विरोधीका नेतृत्व भयो, स्वामित्व ग्रहण भएन, यसको परिणाम स्वरुप संसद विघटन भयो ।’

नेता पौडेलले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका उपलब्धी रक्षाका लागि संयुक्त आन्दोलनको विकल्प नआएको बताए । संविधानको लागि, प्रणालीको लागि पनि दल, नागरिक समाजलगायत सबै मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ,उनले भने,‘यसो गरिएन भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै उपलब्धी गुम्छ र देश दुर्घटनातर्फ जान्छ ।’ उनले बैशाखपछि केपी ओलीले संकट लगाउने भन्दै त्यसपछि सेना आउने भविष्यवाणी गरे । सेना निस्केपछि ओलीसमेत पदबाट हट्ने उनले विश्लेषण गरे ।

नेकपा केन्द्रीय सदस्य तथा कास्की सह–ईञ्चार्ज चुडामणी जंगलीले गणतन्त्र प्राप्तिमा जनयुद्धको महत्वपूर्ण योगदान रहेको बताए । गणतन्त्रको आन्दोलन चलिरहँदा बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै खिसिट्यूरी गर्ने केपी ओली देशको नेतृत्वमा पुग्नु अभिसाप भएको बताए । ओली प्रतिगमनकारी भएको आरोप लगाउँदै उनले ओली विदेशी दलाल र पुँजिवादको मतियार बनेको टिप्पणी गरे ।

नेकपा कास्कीका सचिव बखानसिंह तमु (आभाष)ले हजारौं सहीदहरुको बलिदानीबाट गणतन्त्र प्राप्ति भएकाले यसको रक्षाका लागि एकजुट भएर लड्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर