पोखरा आएर बानियाँलाई मदन पुरस्कार अर्पण

पोखरा आएर बानियाँलाई मदन पुरस्कार अर्पण

पोखरा : मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै आएर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा अर्पण हुन सकेको थिएन ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई आरती गर्दै ताम्रपत्र अर्पण गरेका थिए । बानियाँले स्वास्थ्यका कारण काठमाडौं पुग्न असमर्थता देखाएपछि गुठीले पोखरामै पुरस्कार अर्पणको निर्णय गरेका दीक्षितले सुनाए । गुठीले प्रदान गरेको जगदम्बा श्री सम्मान पनि शनिबार नै भारत सिलगुढीमै पुगेर शान्ति ठटाललाई अर्पण गरिएको उनले सुनाए ।

‘कोरोना भाइरसले गुन लगायो । मलाई पुरस्कार दिन पोखरा आउनुहुन्छ भन्ने थाहा पाएको भए त म बेनी नै आउनुस् भन्थें नि ! पोखरा किन भन्थें ?’ बानियाँले भने । म्याग्दीको बेनी नगरपालिकाका स्थायी बासिन्दा बानियाँ केही वर्षयता भने पोखरा बस्दै आएका छन् । उनले लेखेको उपन्यास पर्वत राज्यको इतिहास सम्बन्धी हो । बानियाँले उपन्यास पनि पोखरामै बसेर लेखेको सुनाए । महारानीबाहेक बानियाँका भौंज्याहासहित ४ वटा कृति प्रकाशित छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखककै सहरमा पुरस्कार अर्पण गर्न पाएकोमा खुसी प्रकट गरे । पोखराका कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि विद्वत प्रवचन प्रेषित गरेका थिए । पत्रकार अमृत सुवेदीले उनको प्रवचन बाचन गरेर सुनाए ।

यसअघि पोखराका सरुभक्तले २०४८ सालमा पागल बस्तीका लागि मदन पुरस्कर जितेका थिए । ‘मंगली कुसुम’ कीर्तिका लागि पोखराकै धर्मराज थापाले २०२५ सालम उक्त पुरस्कार पाएका थिए भने सबैभन्दा पहिला मदन पुरस्कार पाउने पोखरेली लेखक मुकुन्दशरण उपाध्याय हुन् । उनको कृति प्राकृत पोखरा २०२१ सालमा पुरस्कत भएको थियो । गण्डकी प्रदेशबाट मदन पुरस्कार पाउने बानिया चौंथो लेखक हुन्।

सम्बन्धित खवर