नेकपा मोरङले विशेष कार्यक्रम आयोजना गरी २६ औं जनयुद्ध दिवस मनायो

नेकपा मोरङले विशेष कार्यक्रम आयोजना गरी २६ औं जनयुद्ध दिवस मनायो

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाएको छ ।

नेपालको राजनीतिक व्यवस्था परिवर्तनसँगै आर्थिक सांस्कृतिक रुपान्तरणका लागि दश वर्षसम्म चलेको सशस्त्र जनयुद्ध २०६२/६३ को जनआन्दोलन हुँदै शान्ति प्रकृयामा रुपान्तरण भएको थियो । सोही प्रकृयाबाट नेपालमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता मुद्दाहरु स्थापित भई कार्यान्वयनमा आएका हुन् ।

झण्डै १० हजार भन्दा बढी सहिद र एक हजार भन्दा धेरै वेपत्ता, हजारौं घाइते अपाङ्ग हुनेगरी नेपाली भूमिमा सञ्चालित जनयुद्धमा दशौं हजार व्यक्तिले जेल र हिराशत व्यहोरेका थिए ।
२६ औं जनयुद्ध दिवशको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले जनयुद्धको उपलब्धि खतरामा परेको भन्दै संघीयता, गणतन्त्र जस्ता उपलब्धि जोगाउन सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो ।

जनयुद्ध शोषण र उत्पीडन विरुद्ध उठेको वर्ग संघर्ष भएकोले त्यसको विशेष महत्व रहेको र नेपालमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने वातावरण त्यसले सिर्जना गरेको उहाँको भनाई थियो । उहाँले अहिले राजनीतिक वातावरण परिवर्तन भई फेरी संघर्ष गर्नुपर्ने अवस्था आइपरेको भन्दै यसलेपनि जनयुद्धको महत्व र औचित्य पुष्टि गरेको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले जनयुद्धले जनआन्दोलनको आधार तयार गरेका कारण वर्तमान परिवर्तनलाई सम्भव बनाएको बताउनुभयो । ‘नेपाली जनयुद्ध क्रान्तिलाई आफ्नो विशेषतामा बढाउन सकिन्छ भन्ने दृष्टान्त विश्वसमुदायमा पेश गर्न सफल आन्दोलन हो’ उहाँले भन्नुभयो ।

नेता रेग्मीले जनताको जीवनमा परिवर्तन गर्न, आर्थिक, सांस्कृतिक रुपान्तरण् , राजनीतिक परिवर्तन र भाषिक उत्पीडनका विरुद्ध संसारमा युद्धहरु हुने गरेको बताउनुभयो । प्रतिगामीहरुले युद्धको नकारात्मक पाटोमात्र केलाउने र आलोचना गर्ने तर क्रान्तिकारीहरुले समग्र मूल्यांकन गरी उपलब्धिहरुका आधारमा त्यसलाई हेर्ने गरेको उहाँको भनाइ थियो ।

नेता रेग्मीले दश वर्ष चलेको जनयुद्ध र त्यसको भावना अनुसार नेता र कार्यकर्ताहरु कचलेका छन् वा छैनन् भनेर समीक्षा गर्न जरूरी रहेको टिप्पणी गर्नुभयो । ‘हाम्रो व्यवहार कति पारदर्शी भए र छन् त्यसले पार्टीको भविष्य निश्चित गर्छ,’ उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा विराटनगर महानगर कमिटीका इन्चार्ज शिवकुमार मण्डलले जनयुद्धकै कारण देशमा गणतन्त्र सम्भव भएको बताउनुभयो । उहाँले परिवर्तन यतिबेला संकटमा परेकोले जोगाउने दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको भएको बताउनुभयो । उहाँले कम्युनिष्ट नेताहरु सत्तामा पुगेपछि बिग्रने वा उनीहरुमा बिचलन आउने समस्या पटक पटक देखिएकोले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा पार्टीको मुख्य नेतृत्व सरकारमा नजाने संस्कारको विकास गर्नसके मात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने बताउनुभयो ।

नेकपा मोरङका सचिवालय सदस्य पारुल क्षेत्रीले कम्युनिष्ट आन्दोलनमा व्यक्तिलाई प्रधान बनाउने प्रयत्न गर्न न हुने भन्दै नीतिलाई छोडेर व्यक्तिलाई प्रधान बनाउँदा फेरीपनि केपी ओलीहरु जन्मिने टिप्पणी गर्नुभयो । उहाँले बहसलाई बिचारमा आधारित बनाउनु पर्ने भन्दै नेपालमा सञ्चालित जनयुद्ध कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण घटना भएको बताउनुभयो ।

सम्बन्धित खवर