विराटनगर : भारत सरकारको सहयोगमा बन्ने भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको रेलखण्डको काम दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ ।
पूर्वोत्तर सीमान्त रेल मण्डलका प्रबन्धक रविन्द्रकुमार बर्माले दिएको जानकारी अनुसार सन् २०२२ सम्ममा रेलवे लाइन विस्तारको काम सम्पन्न भैसक्ने छ ।
भारतबाट म्यान्मारसम्म रेल सेवा विस्तार गर्ने भावी योजनाका सम्बन्धमा जानकारी दिने क्रममा पूर्वोत्तर सीमान्त रेल मण्डलका प्रबन्धक बर्मा र अपर मण्डल रेल प्रबन्धक विजयकुमार चौधरीले सो जानकारी दिएका हुन् ।
बथनाहाबाट कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लामो सो रेलखण्ड भारू ३ अर्ब ७६ करोडको लागतमा बन्न लागेको हो । सो रेलखण्डमध्ये बथनाहादेखि एकीकृत जाँच चौकी बुधनगरसम्मको ८ किलोमिटरको काम पूरा भएर रेल सञ्चालनको परीक्षण पनि भैसकेको छ ।
बुधनगरको एकीकृत जाँच चौकीभन्दा उत्तरको काम भने मुआब्जा विवादका कारण अघि बढ्न सकेको थिएन ।
सरकारले तोकेको मुआब्जाको दरमा चित्त नबुझेर केही परिवारले अदालतमा मुद्दा दायर गरेकाले रेलवे लाइन विस्तारको काम अघि बढ्न नसकेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार २३ परिवार जतिले मुआब्जा बुझ्न मानिरहेका छैनन् । तर काम भने रोकिएको छैन । अदालतको फैसला जे आउँछ त्यही अनुसार पछि मुआब्जा दिने गरी काम अघि बढाइएको हो ।
सो रेल सेवाको अन्तिम स्टेशन कटहरीमा हुनेछ र शुरूमा माल सामान ओसारपसारमा प्रयोग गर्ने र पछि यात्रु सेवा विस्तार गर्नेगरी सो आयोजनाको काम भैरहेको छ ।