उर्लाबारी : मोरङको उर्लाबारीमा डिलरहरूले मनपरी मूल्यमा ग्यास बेच्ने गरेको पाइएको छ । उर्लाबारीमा रहेका विभिन्न ग्यासका डिलरहरूले नेपाल आयल निगमले तोकेको मूल्यभन्दा २० रुपैयाँ बढी लिएर ग्यास बेच्ने गरेका हुन् ।
नेपाल आयल निगमले बिहीबारदेखि लागु हुने गरी तराईमा ग्यासको मूल्य १३ सय ८० कायम गरेपनि उर्लाबारीमा डिलरले १४ सय रुपैयाँ लिने गरेका छन् । बिहीबार अघि ग्यासको मूल्य १३ सय ५५ रुपैयाँ थियो । तर, उर्लाबारी–४ का ज्ञानेन्द्र भट्टराईले केही दिनअघि (मूल्य बढ्नु अघि) १३ सय ७५ रुपैयाँमा कोशी ग्यास खरिद गरे । ‘ग्यासको १३ सय ७५ र ढुवानीको २५ गरी १४ सय रुपैयाँ तिरेँ’ उहाँले भन्नुभयो ।
उर्लाबारीका अधिकांश डिलरले ग्यासमा २० रुपैयाँ बढी मूल्य लिएर उपभोक्ता अधिकारमाथि खेलवाड गरिरहँदा नियमक निकाय भने बेखबर छ । उर्लाबारी नगरपालिका अनुगमन समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री भइरहेको विषयमा अनविज्ञ रहेको बताउनुभयो । ‘बढी मूल्य लिएको थाहा छैन’ उहाँले भन्नुभयो, ‘गुनासो तथा उजुरी आएमा अनुगमन गरेर कारबाही गछौं ।’
उता, एलपी ग्यास बिक्रेता महासंघ मोरङका अध्यक्ष गणेशकुमार साह आयल निगमले तोकेकोभन्दा बढी मूल्यमा बिक्री गर्नु गैरकानुनी भएको बताउनुहुन्छ । बढी मूल्य लिएर ग्यासमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याउन आफू सक्रिय रहेको उहाँले बताउनुभयो ।
तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत कारबाही गरिने बाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो । ‘यदि त्यस्तो प्रमाण भेटियो भने तत्कालै एक्सनमा निस्कन्छौं’ उहाँले भन्नुभयो, ‘बढी मूल्य लिएर बेच्नेलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पहिलो चरणमा २ देखि ३ लाखसम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।’
३खाली सिलिण्डरमा पनि फरक फरक मूल्य
ग्यासका खाली सिलिण्डर पनि फरक फरक मूल्यमा बिक्री हुने गरेको छ । महासंघ मोरङका अध्यक्ष साह दुई महिना अघिसम्म उद्योगले डिलरलाई १५ सय रुपैयाँमा खाली सिलिण्डर दिँदै आएको भएपनि अहिले उद्योगै पिच्छे फरक फरक मूल्य रहेको बताउँनुहुन्छ ।
‘अहिले उद्योगहरुले १५ सयदेखि २ हजार रुपैयाँसम्ममा खाली सिलिण्डर दिइरहेका छन्’ उहाँले भन्नुभयो, ‘तर, डिलरले उपभोक्तालाई २२ सय ५० रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाउँदैनन् ।’
ग्यास तथा सिलिण्डरको मूल्यमा मनपरि हुँदा उपभोक्ता भने मारमा परेका छन् । बढी मूल्यमा ग्यास खरिद गर्दा उपभोक्ताको भान्सा महंगिएको छ भने ग्यास उद्योग र डिलरहरुलाई मालामाल भएको छ ।
कम्पनीले सरकारले तोकेकै मूल्यमा दिने तर डिलरले सरकारले बढी मूल्य लिएर बिक्री गर्दा र नियमक निकायले कालोबजारी तथा बजार अनुगमनमा ध्यान नदिँदा उपभोक्ता मारमा परिरहेको उर्लाबारीका एक होटल व्यवसायीले बताए । ‘डिलरले बढी मूल्यमा बिक्री गर्दा हामी उपभोक्ता मारमा परेका छौँ । हाम्रो मर्का कसले बुझ्ने ?’ उनले प्रश्न गरे ।