हामी मर्नबाट जोगिएका मान्छौं हौ : प्रचण्ड

हामी मर्नबाट जोगिएका मान्छौं हौ : प्रचण्ड

काठमाडौं : आज १ फागुन । २६ वर्षअघि यही दिनबाट तत्कालनी माओवादीले जनयुद्ध थालेको थियो । आजको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । नेकपा विभाजित भएको अवस्थामा पूर्व माओवादीले कसरी जनयुद्ध मनाउँछ भन्ने ठूलो उत्सुकता थियो ।

जनयुद्ध दिवसका अवसरमा १७ हजार मानिस मारिएको जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक बलिदानी दिन तयार हुनुपर्ने बताउनुभएको छ । प्रचण्डले पुन एकपटक संघर्षको मैदानमा उभिनुपर्ने पनि बताउनुभएको छ ।

पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘सहिदलाई सम्झिने भनेको उनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न नदिनु हो । जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्प गर्ने दिन हो ।’

जनयुद्धको उपलब्धि गुम्ने खतरा भएको भन्दै उहाँले वलिदानका लागि तयार हुन आह्वान पनि गर्नुभएको छ । प्रचण्डले भन्नुभयो– ‘हाम्रो आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुष्प्रयास भएको छ । हामी सहन सक्छौं त ? आज हामीले नयाँ संकल्प गर्ने अवसर पनि हो । साहिदको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं ।’

इतिहासका महान सहिदहरु कहिल्यै मर्न नसक्ने भन्दै प्रचण्डले आफूहरू मर्नबाट जोगिएका मान्छौं हौ भन्नुभयो । संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने उहाँले दावी गर्नुभयो ।

अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको भन्दै प्रचण्डले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रलाई कुल्चिने दुस्प्रयास सफल नहुने बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र भित्र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने ऐतिहासिक विकास तिर लैजाने जमर्को गरिएकोमा त्यो कदम माथि प्रहार भएको प्रचण्डले बताउनुभयो । कम्युनिष्ट एकता माथि दक्षिणपन्थि र प्रतिक्रान्ति कित्ताबाट आक्रमण भएको उहाँको भनाइ छ ।

संघीय लोकतन्त्र र संविधानलाई कसैले खोस्न नसक्ने प्रचण्डको बताउनुभयो । उहाँले यो भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

सम्बन्धित खवर