रुपन्देही : पूर्वमाओवादीले गर्वका साथ मनाउने गरेको फागुन एक गतेकै दिन पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ । माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका जनमुक्ति सेना’को एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेदको घोषणा गरेको हो ।
बुटवलमा भएको पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गरेको छ । फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो । भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी छन् ।
गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने पूर्व कमाण्डर दुर्गाप्रसाद चौधरीले बताउनु भयो । ओलीलाई साथ दिने भएपछि भेलामा हिडेका उनिहरुलाई प्रचण्डको प्रत्यक्ष निर्देशनमा बाटोमा अवरोध गरिएको थियो ।
राष्ट्रिय भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, माओवादी जनयुद्धकालका दुई प्रमुख कमाण्डर टोपवहादुर रायमाझी र लेखराज भट्टले सम्बोधन गर्नुभएको छ ।