धरान : धरानको सेउती र सर्दु खोलाबाट अवैध रुपमा नदिजन्य वस्तुहरुको तीब्र उत्खनन् भईरहेका छन् । धरानको पूर्वमा भई बग्ने सेउती र पश्चिम भई बग्ने सर्दुमा खोला उत्खनन् गर्न स्थानीयवासी नै सक्रिय रुपमा लागेका छन् । विषेश गरेर खोला किनार र खोला आसपास बसोबास गर्ने स्थानीयहरु खोला उत्खनन्मा सक्रिय छन् । दैनिक जसो ढुंगा, गिटी र बालुवा बिक्रि हुने गरेको पाइएको छ ।
खोलाबाट नदीजन्य सामग्री उत्खनन तथा संकलन भने धमाधम भइरहेको छ । खोलाको ठेक्का नलागे पनि सेउती खोलामा दैनिक १५ देखि २० वटा ट्याक्टरले नदीजन्य सामग्री ओसारिरहेका भेटिन्छन् । टन्टलापुर घाममा सयौंको संख्यामा बालबालिका देखि वृद्धवृद्धासम्मकाले ढुंगा ओसार पसार गरिरहेका, गिटी कुट्दै गरिरहेका, बालुवा चालिरहेका भेटिन्छन् । यसरी अवैध रुपमा खोला उत्खनन् गरिदा भूक्षय हुने र प्रकोपको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । यि यस्ता जोखिमको न्यूनिकरण गर्न सरकारले खोला उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ ।
धरान उपमहानगरका प्रमुख तिलक राईले खोलाहरुमा नदिजन्य वस्तुको अवैध रुपमा चोरी निकासी भइरहेको बताउनुभयो । ‘धरान उपमहानगरपालिकाले वार्षिक रुपमा ठेक्का लगाउने गर्छ । तर, यस वर्ष भने खोलाको ठेक्का लगाएको छैन । खोलाको ठेक्का लगाउनमा ढिलाई भयो, उपमहानगरपालिकाले ठेक्का नलगाएको भन्दैमा स्थानीयले नदिजन्य सामग्रीको अवैध रुपमा उत्खनन् गरेर बिक्री गर्न हुँदैन’ उहाँले भन्नुभयो । अत्याधिक रुपमा खोला उत्खनन् भइरहेको बताउँदै धरान उपमहानगरको गम्भिर ध्यानाकर्षण भएको नगर प्रमुख राईको भनाई छ ।
धरान उपमहानगरको मुख्य आम्दानीको रुपमा समेत रहेको खोलाहरुको अवैध रुपमा चोरी निकासी हुनुले उपमहानगर करौडौंको घाटामा छ । नदिजन्य वस्तुमा विभिन्न राजनितिक दलका नेतादेखि लिएर क्रसर व्यापारीहरु समेत यसमा संलग्न रहेका छन् ।
विपद तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले धरानका खोलाहरुको उत्खनन् तथा व्यवस्थापन गर्ने सन्दर्भमा (आईई) प्रारम्भिक वातावरणीय परिक्षण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामि चाडै नै बिक्रि गर्ने प्रवन्ध गर्दै छौं, अहिले कतिपय स्थानहरुमा अवैध रुपमा नदिजन्य पदार्थहरु चोरी निकासी भइरहेको छ, त्यसको लागि हामिले निगरानी, अनुगमन गरिरहेका छौं, कतिपय त्यस्ता चोरी निकासी गर्ने ट्रिपर, ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर कार्बाहीको दायरामा ल्याएका छौं ।’
‘आजभोली नै ठेक्का बन्दोबस्त गर्ने प्रक्रियामा गएका छौं, सुचना निकाल्दै छौं, त्यसपछि खोलाहरुको चोरी निकासी बन्द गर्ने अभियानमा हामि जाने छौं’ उहाँले भन्नुभयो ।