ओखलढुंगा : प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले संसद् विघटनबारेको फैसला चुनावपछि पनि आउन सक्ने भन्दै सबैलाई चुनावमा लागिपर्न उहाँले आग्रह गर्नुभयो।
जनताले दिएको म्यान्डेट कोठाभित्र बुझाउने काम नगरी जनादेशलाई जनताकै सामु लिएर जाने सर्वोत्तम विकल्प प्रधानमन्त्री केपी ओलीले दिएका पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री लोकतान्त्रिक विकल्पका रुपमा लिएर बढेकाले वैशाखमा निर्वाचन हुने र त्यसको तयारीमा लाग्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो।
ओखलढुंगाका जनतालाई सही समयमा सही नेतृत्व गर्ने भनी तारिफ गरेका मुख्यमन्त्रीले प्रदेशमा आफ्नो नेतृत्वको सरकारले सैयौं झोलुंगेपुल तथा सडक निर्माण गरेको दाबी पनि गर्नुभयो।
देशमा तीन वटा सरकार भएका कारण जनप्रतिनिधिले जनतालाई ढाँट्न नपाउने र जनताको सेवा तथा विकासका लागि आफूहरु दत्तचित्त भएर लाग्ने उहाँले विश्वास दिलाउनुभयो।
पत्रकार महासंघ ओखलढुंगाको भवन निर्माण सम्पन्न गर्नका लागि पत्रकार महासंघको साथमा प्रदेश सरकार रहेको पनि उहाँले त्यस क्रममा बताउनुभयो।