विराटनगर : प्रदेश १ का अस्पतालहरूमा कोरोना संक्रमितको संख्या शून्य भएको छ।
कोरोना अस्पताल तथा निजी अस्पतालमा अहिले कुनैपनि संक्रमित उपचाररत नभएको अस्पतालहरुले जनाएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार अस्पतालमा संक्रमितको संख्या शून्य छ। हाल २० जना सक्रिय संक्रमित छन्। उनीहरू सवै होमआइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार झापामा ३, मोरंगमा ४, सुनसरीमा ११, खोटाङमा १ र प्रदेश १ बाहिरका १ जना संक्रमित छन्।
प्रदेश १ का १० जिल्ला कोरोना संक्रमण शून्य भएका छन्। संक्रमण शून्य भएका जिल्लामा उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्वु, संखुवासभा, ते¥हथुम, इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुङ्गा छन्।
उदयपुरमा ४९७ संक्रमित मध्ये ८ जना, धनकुटामा २१५ जना संक्रमित मध्ये ११ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यसैगरि संखुवासभामा ३४६ संक्रमित मध्ये १, ते¥हथुममा १२३ संक्रमित मध्ये ४, इलाममा ४८२ संक्रमित मध्ये ७, पाँचथरमा १४८ मध्ये १, ताप्लेजुङमा १२० संक्रमित मध्ये २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
भोजपुरमा ८९ जना, सोलुखुम्वुमा ३७ र ओखलढुङ्गामा ४७ संक्रमित भएका छन्।
तीन जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। प्रदेश १ मा सोमबार साँझसम्म ३० हजार १६० जनामा कोरोना संक्रमण भएका छ। संक्रमितमध्ये ४६५ जनाको मृत्यु भएको छ।
२५ हजारलाई कोरोनाविरुद्धको खोप
प्रदेश १ मा २५ हजार बढीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।
सोमबार साँझसम्म २५ हजार ७१८ जनालाई खोप लगाइएको हो। पहिलो चरणको खोप लगाउने क्रम जारी नै रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो।
पहिलो चरणमा सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्यका कर्मचारी र सरसफाईकर्मी गरी ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ।