ताप्लेजुङमा कारागारकाे क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङमा कारागारकाे क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ : ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएकाे छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताउनुभयो । जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् ।

नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई  सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी आठ जना डाका मुद्दा, तीन जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, चार जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् ।

त्यसैगरी दुई जना गाडी ज्यान मुद्दा, तीन जना जबर्जस्ती करणी, अपहरण मुद्दा, पाँच जना हातहतियार खरखजना, आगजनी मुद्दा, एक जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, छ जना बहुविवाह मुद्दा, एक जना आगजानी अपहरण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, एक जना अवैध वन पैदावार मुद्दा, सात जना हाडनाता कारणी मुद्दा, दुई जना ठगी र अभद्र व्यवहार, आठ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् । दुई जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताउनुभयो ।

एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताउनुभयो । दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताउनुभयो । कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनुभयो । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उहाँको भनाइ थियो ।

कारागारमा दरबन्दीअनुसार कार्मचारी अभाव

ताप्लेजुङ कारगारमा नौ जनाको दरबन्दी रहेकामा अहिले जेलर एक, करारमा एक कम्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी छ ।

जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताउनुभयो । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यवस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताउनुभयो ।

ताप्लेजुङ कारागार १९९२ सालमा बनेको हो । कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भन्नुभयो ‘योगेश भट्टराई पर्यटनमन्त्री हुँदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु ।’

सम्बन्धित खवर