एम्बुलेन्स बिक्रीका मतियार नै अहिले वडाध्यक्ष, एम्बुलेन्स खोज्दै बेलबारीवासी

एम्बुलेन्स बिक्रीका मतियार नै अहिले वडाध्यक्ष, एम्बुलेन्स खोज्दै बेलबारीवासी

माेरङ, मोरङको बेलबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीको नेतृत्वमा एम्बुलेन्स बिक्री गरेको पाइएको छ ।

लायन्स क्लव अफ बेलबारीले खरिद गरेको एम्बुलेन्स तत्कालिन समयमा सुवेदीको नेतृत्वमा बेचिएको भन्दै अहिले स्थानीयहरुले गुनासो गरेका छन् । अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म जीवन बचाउनका लागि खरिद गरिएको एम्बुलेन्ससमेत विक्री गरेको भन्दै बेलबारीवासी आक्रोसित बनेका छन् ।

लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएकामा संस्थाको समेत बेइज्जती भएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको रु तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा रु ११ लाखमा खरिद गरिएको को १ च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स विसं २०७० मा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं–३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर बिक्री गरिएको पाइएको हो ।

एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि यसको खोजी नभएको र सन् २०२० मा आफू नेतृत्वमा आएपछि खोजी गरिएको तथा पटक÷पटक पुरानो समितिलाई यसबारे जानकारी माग्दा बेवस्ता गर्नाका साथै कुनै जवाफ नपाइएको उहाँले जानकारी दिनुभयो । गरीब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको उक्त एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर