जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

लहान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

जनकपुर उपमहानगरपालिकास्थित शिव चोकमा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको धनुषा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो । झडपमा प्रहरीले लाठीचार्ज गर्नुका साथै १२ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

झडपका क्रममा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झासहित ११ जना घाइते भएका छन् । झाको टाउकोमा चोट लागेको छ । पूर्वमन्त्रीसमेत रहेका नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् । प्रहरीले नौ जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित खवर