प्रचण्ड–पक्षको क्रुरतापूर्ण अपराध : बन्दमा पसल खोलेको भन्दै आमाछोरीलाई खनाए तातो तेल

प्रचण्ड–पक्षको क्रुरतापूर्ण अपराध : बन्दमा पसल खोलेको भन्दै आमाछोरीलाई खनाए तातो तेल

विराटनगर : नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विराटनगरमा आमाछोरीमाथी क्रुरतापूर्ण अपराध गरेका छन् । आह्वान गरेको आमहड्तालका क्रममा सामान्य चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याएका हुन् ।

दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेर बसेका आमाछोरीमाथी तातो तेल खन्याएका हुन् । बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन् ।

समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घाइते भएका छन् ।

पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो ।

उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन् । विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए ।

सम्बन्धित खवर