सभामुख अग्नीप्रसाद सापकोटा बढी प्रचारमा आउन खोजे : मन्त्री ढकाल

सभामुख अग्नीप्रसाद सापकोटा बढी प्रचारमा आउन खोजे : मन्त्री ढकाल

विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्नीप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताउनुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ढकालले सभामुख बढी प्रचारमुखी भएको बताउनुभयो। संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ताले केही असर नगर्ने उहाँको भनाइ छ।

सभामुख सापकोटाले परिषद् सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रुपमा सिफारिस फिर्ता गरेको मन्त्री ढकालको जिकिर छ। संवैधानिक र कानुनी हिसाबले सिफारिस फिर्ताको अर्थ नभएको उहाँले बताउनुभयो। संवैधानिक परिषद्मा गरिएको नियुक्ति प्रकृया अघि बढेको मन्त्री ढकालले बताउनुभयो। परिषद्को निर्णयअनुसार नियुक्ति हुने उहाँको भनाइ छ।

मन्त्री ढकालले काठमाडौंमा माघ २३ गते आयोजना गरिएको जनसभाको सहभागिता बढाउन आलोचकले सहयोग गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विरोधीको प्रचारका कारण पनि सहभागिता बढ्ने भयो।’ विरोधीहरुले भने जस्तो माघ २३ गते कुनै पनि निर्णय नहुने उहाँको दाबी छ।

जनसभाको सहभागिता उल्लेख्य हुने देखिएकाले नारायणहिटी अगाडि कार्यक्रम राखिएको मन्त्री ढकालले बताउनुभयो। उहाँले भन्नुभयो,‘ राजनीतिक दलले काठमाडौंमा हैसियत अनुसार सभा गर्छन्।’ ठूलो स्थानमा सभा गर्र्ने तयारीअनुसार कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो। मन्त्री ढकालले भन्नुभयो, ‘ठूलो ठाउँको खोजी गर्दा त्यहाँ गर्ने निर्णय गरियो।’

सरकारले निर्धारण गरेकै मितिमा निर्वाचन हुने उहाँको भनाइ छ। सरकारको विरोध गरे पनि राजनीति दलले निर्वाचनको तयारी गरिरहेको मन्त्री ढकालले बताउनुभयो। सरकारको विरोध गरे पनि दलहरुले भित्रभित्रै निर्वाचनको पनि तयारी गरिरहेको उहाँको भनाइ छ।

सम्बन्धित खवर