सर्वोच्च नेता आङ सान सू की सेनाको हिरासतमा

सर्वोच्च नेता आङ सान सू की सेनाको हिरासतमा

म्यानमारको सेनाले त्यहाँको नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) की सर्वोच्च नेता आङ सान सू कीलाई हिरासतमा लिएको छ ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला नेतृ सुकीलाई पक्राउ गरिएको हो । सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सीट जितेको छ । तर, सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ ।

सोमबार (आज) हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो ।

पार्टी प्रवक्ता म्यो न्यूनले नेतृ सुकीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान नै सेनाले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सम्बन्धित खवर