अरूण तेस्रो जलविद्युत परियोजनाको काम ४० प्रतिशत सकियो

अरूण तेस्रो जलविद्युत परियोजनाको काम ४० प्रतिशत सकियो

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको काम ४० प्रतिशत सकिएको छ । नदीको पानी डाइभर्सन गर्न ४ सय २९ मिटरको सुरूङ मार्ग समेत निर्माण गरिसकेको छ ।

परियोजनाले सोमबार सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरूण धिमानले जानकारी दिनुभयो । अरूण नदीको पानी थुनेर सोमबार सुरूङतर्फ फर्काइने छ । बाँधस्थल मकालु गाउँपालिका ५ फ्याक्सिन्दा र विद्युत गृहस्थल चिचिला गाउँपालिका २ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको उहाँले बताउनुभयो ।

परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरूङ मार्गको दूरी ११ दशमलव ७४ किमी छ । परियोजनाको २०७४ बैशाख २९ गते  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइने छ ।

बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी  छ । आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ ।

परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरूङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

एक खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ लिनेछ ।

परियोजनाबाट प्रभावित स्थानीयवासीले एक अर्ब ६० करोडको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पिडिएमा उल्लेख गरिएको छ ।

परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी तीन खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर