ज्यान जाला इटाभट्टा खोल्न दिदैनौँः रतनचौनबासी आन्दोलित

ज्यान जाला इटाभट्टा खोल्न दिदैनौँः रतनचौनबासी आन्दोलित

भीमराज अधिकारी, पथरी

झापाको कमल १ रतनचौनका स्थानीयबासी यतिबेला आन्दोलित बनेका छन् ।

केहिवर्ष देखि निरन्तर संघर्ष गर्दै आएका स्थानीयले अब रगतको खोला बगाउनुपरेपनि पछि नहट्ने बताएका छन् । दमकका व्यावसायी गुणराज थापाले बस्तीमा इटाभट्टा खोल्ने बताएपछि स्थानीयहरु आन्दोलित बनेका हुन् ।  थापाले करिब ५ वर्ष अघिदेखी कहिले इटा भट्टा त कहिले सिमेन्ट उद्योग खोल्छु भन्दै आतंकित बनाएको स्थानीय सबिता कटुवालले बताइन् । कटुवालले थपिन् थापाले जसरी यहाँ उद्योग खोल्छु भनेर लाग्नुभएको छ, हामी कुनैपनि हालतमा यस्तो मानव स्वास्थ्यमा असर गर्ने उद्योग खोल्न दिदैनौँ ।

अघिल्ला वर्षहरुमा पनि समय समयमा उद्योग खोल्ने विषय उठ्ने गरेको तर स्थानीयले अरोध गर्दै आएको वडा अध्यक्ष कदार कटुवालले बताए । कानुनी रुपमा वडा कार्यालयले सर्जमिन गरेर अनुमति दिएपछि मात्रै काम अगाडी बढ्नुपर्ने भएकाले अहिलेसम्म वडा र गाउँपालिकामा त्यस्तो कुनै पनि आधिकारिक जानकारी नआएको कटुवालले जानकारी दिए । स्थानीयको अवरोध हुँदाहुँदै कुनैपनि हालतमा वडाले यस्तो वातावरण प्रदुर्षण हुने किसिमका उद्योग खोल्न अनुमति नदिने समेत बटुवालले प्रतिवद्धता गरे ।

आफ्नो हैसियत अनुसारको काम गर्ने हुँ भन्दै डर देखाउने गरेको व्यावसायी थापाका सधिँयार गोमा विष्टले बताइन् । हात्ती पाल्ने हैसियत भएको मान्छे हुँ, आफुले जानेको यहि छ यहि गर्छु भन्ने, स्थानीयलाई रोजगारी दिने लोभ देखाउने गरेको विष्टको भनाइ छ । आफ्नो सिमानामा इटा भट्टी खोल्ने कुरामा आफु कहिलेपनि सहमत नहुने विष्टले बताइन् ।

थापाका अर्का सँधियार पूर्ण धिमाले पनि इटा भट्टी खोल्ने कुरामा आफु सहमत नहुने बताए । १० वर्ष विदेश वसेर पसिना चुहाएर बनाएको सानो झुप्रो घर समेत भट्टीको तातोमा डड्ने धिमाललाई डर छ । थापाले केही दिनका लागि भन्दै आफु नभएको बेला घरमा ५० बोरा सिमेन्ट राखेको धिमालले बताए ।

पटक पटक थापाले यस्ता हर्कत गर्दै गाउँबासीलाई दुःख दिएको भन्दै अब रगतको खोला बगाउन पनि तयार रहेको टोल विकास समितिका अध्यक्ष सन्तोष कटुवालले बताए । कार्यक्रममा प्रेम दंगाल, रबिन्द्र ढुंगाना, तुलशी दंगाल, भिम कुमारी राई लगाएतले इटा भट्टी खोल्ने कुराको कडा बिरोध गरे ।

सो क्षेत्रमा थापाले संरचना निर्माणका लागि आवश्यक पर्ने गिटी, बलुवा, रड, सिमेन्ट लगायतका सामान झारिसकेका छन् । थापाले अझै अटेर गरेर सामान झारे त्यसबाट हुने क्षति व्यहोर्न पनि तयार रहन स्थानीयले चुनौती दिएका छन् । कमल गाउँपालिका र गौरादह नगरपालिका सिमानामा पर्ने सो क्षेत्रमा बाक्लो बस्ती रहेको छ । बस्ती बिचमा खोलिने सिमेन्ट उद्योग, क्रसर, इटाभट्टी लगायतले मानव स्वास्थ्यमा ठुलो असर पार्ने देखिन्छ ।

यता व्यावसायी थापाले भने कुनैपनि हालतमा इटा उद्योग खोल्ने बताएका छन् । हालसम्म काकुनी प्रकृयाहरु केही पनि सुरु नगरेको थापाले जानकारी दिए । यस विषयमा उद्योग मन्त्रालयमा समेत कुरा भइरहेको र अब २,३ महिनामा कानुनी कुराहरु समेत पुरा गर्ने बताएक थापाले शत्प्रतिशत नेपाली कामदार राखेर उच्च प्रविधिको धुवाँ रहित उद्योग खोल्ने तयारी गरेको बताए । सो क्षेत्रमा स्थानीयहरुलाई बुझाएर प्रदेश १ मै नयाँ प्रविधिको उद्योग खोल्ने हो थापाले भने पुरानो चिम्नी भएको भट्टी खोल्ने हैन् ।


सम्बन्धित खवर