शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने बामदेव गौतमको प्रतिबद्धता

शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने बामदेव गौतमको प्रतिबद्धता

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ ।

बुधबार ललितपुरको धोबीघाटमा कार्यक्रम गरि उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनका लागि नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको हो । नेकपा केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा राजनीतिक रूपमा विभाजित भए पनि गौतम तटस्थ रहँदै आउनुभएको थियो ।

आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका गौतमले बुधबारदेखि औपचारिक रूपमै एकता अभियान घोषणा गर्नुभएको हो । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शीर्ष नेताहरू विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू एकता भङ्ग भएकोमा चिन्तित रहेको भन्दै उहाँले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरूलाई अघि बढाउने बताउनुभयो । ६ महिनाभित्र पार्टी एकता गराइ सक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिनाअघि नै एकता हुन सक्ने पनि उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे पनि आफूहरूले त्यस फैसलालाई शिरोधार्य गर्ने उहाँको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै प्रतिनिधि सभा पुनर्स्थापना भयो भने पार्टी एकीकरण गराउन समयसमेत प्राप्त हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना भए पार्टी एकता जोगाउन सकिने भएकाले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेता गौतमले बताउनुभयो ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्वय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताउनुभयो । पार्टी एकताको महत्त्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मङ्सिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताउनुभयो ।

उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफूहरूले अर्को पार्टी नबनाएको स्पष्ट पार्नुभयो । सर्वोच्चमा परेको मुद्दा फैसला हुनेबित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरू पनि आफूहरूसँग मिसिन आउने उहाँको दाबी छ ।

सम्बन्धित खवर