प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदक १३ मध्ये ११  जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो । अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राख्ने छन् ।

ओली नेतृत्वको अघिल्लो सरकारको पालामा महान्यायाधिवक्ता नियुक्त भएकाले अहिलेको विवाद निरुपणमा स्वार्थ बाझिने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएपछि कार्कीले आफू इजलासमा नबस्ने बताएका थिए ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

सम्बन्धित खवर