फोहरपानी प्रशोधन केन्द्र निर्माण अघि बढ्दै

फोहरपानी प्रशोधन केन्द्र निर्माण अघि बढ्दै

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहरपानी व्यवस्थापनका लागि चार ठाउँमा फोहरपानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । तीमध्ये एउटा सञ्चालनमा आइसकेको र तीन वटा निर्माणको चरणमा रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । बालकुमारी ९कोड्कु०, सल्लाघारी र धोबीखोलामा फोहरपानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा रहेको छ । तीन चरणमा निर्माण अघि बढाइएकामा पहिलो चरणअन्तर्गत गुहेश्वरीमा गत कात्तिकमा सम्पन्न भएको थियो भने बाँकी दुई चरणको काम भइरहेको सूचना अधिकारी जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणअन्तर्गत सल्लाघारी र बालकुमारीमा काम अघि बढाइएको छ । धोबीघाटमा दुई ट्याङ्की निर्माण हुनेमा फरकफरक प्याकेजमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धोबीघाटमा एउटा अरू दुई स्थानसँगै एउटै प्याकेजमा निर्माण भएको छ भने एउटा छट्टै निर्माण भइरहेको छ ।”

गत आवमा निर्माणमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ प्रभाव परेको थियो भने अझै पनि काम गर्नै वातावरण सहज नभएको निर्देशनालयले जनाएको छ । निर्माणाधीन यी फोहोरपानी प्रशोधन केन्द्रमा संलग्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीका जनशक्ति कोभिडका कारण नियमितरुपमा काम नगरेको सूचना अधिकारी प्रजापतिले बताउनुभयो । उहाँका अनुसार कोभिडको खोप लगाउन स्वदेश गएका चिनियाँहरु अझै फर्किएर आएका छैनन् । सल्लाघारी, बालकुमारी र धोबीघाट गरी तीनै स्थानमा निर्माणका लागि आवश्यक उपकरण ल्याउन नसकिएको उहाँको भनाइ छ । धोबीघाटस्थित केन्द्र निर्माणमा केही वर्षपहिले स्थानीयवासीको विरोध भएकामा निर्देशनालयले ललितपुर महानगरपालिकासँगको समन्वयमा त्यसको समाधान गरेर निर्माण अघि बढाएको हो । दोस्रो र तेस्रो चरणको भौतिक प्रगति अहिलेसम्म २८ प्रतिशत छ । दोस्रो चरणमा ट्याङ्की निर्माणको काम भइरहेको छ ।

उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फोहोरपानीको मात्रा बढ्ने भन्दै सरकारले यी केन्द्र चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको छ । गुहेश्वरीस्थित केन्द्र सञ्चालनमा आए पनि यहाँको सुन्दरता निर्माण र पार्क निर्माणलगायतका काम भइरहेको छ । दुई वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण तोकिएको अवधिभन्दा एक वर्षपछि सम्पन्न भएको थियो । सरकारले काठमाडौँ उपत्यकाका नदीहरुमा फोहोरपानीको ढल सिधै मिसिन नदिन प्रशोधन केन्द्र निर्माण गरिरहेको हो । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत्समेत निकाल्ने योजना बनाइएको छ ।

सम्बन्धित खवर